काठमाडौं । नेपाली घरेलु फुटबलमा फ्रेन्ड्स र संकटा त्यस्ता दुई टिम हुन्, जसको प्रदर्शन अधिकांस समय स्थिर हुने गर्दैन्, विशेषत: लिगमा ।
यिनै दुई टिमबीच सहिद स्मारक लिग ए डिभिजन २०७८ को दोस्रो खेलमा शुक्रबार भेट हुनेछ । दुवै टिमको लक्ष्य यसपल्टको लिगमा पहिलो जित निकाल्ने हुनेछ ।
फ्रेन्ड्सले आफ्नो पहिलो खेलमा सातदोबाटोसँग गोलरहित बराबरी खेलेको थियो । संकटाले भने हिमालयन शेर्पासँग १–१ को बराबरी खेलेको थियो ।
वर्ष ०६८ यता यी दुई टिमबीच चार पल्ट भेट भएकामा दुई खेलमा फ्रेन्ड्स विजयी रहेको छ भने एकमा संकटा । यस्तै एक खेल बराबरीमा टुंगेको छ ।
लिगका आफ्ना पछिल्ला पाँच खेलमा फ्रेन्ड्सले एउटै जित मात्र निकालेको छ । त्यसयताका तीन खेलमा पराजित रहेको छ । त्यस बाहेक फ्रेन्ड्सले पछिल्ला दुई खेलका १ सय ८० मिनेटमा कुनै गोल गर्न सकेको छैन् ।
संकटाले भने लिगमा पछिल्ला पाँच खेलमा दुई जित र दुई हार आत्मसात गरेको छ । एक खेल भने बराबरी रहेको छ । पछिल्ला दुई खेलमा संकटा अपराजित छ ।