काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन २०७८ मा शुक्रबार दोस्रो चरणका खेल सुरु हुनेछन् ।
त्यसको पहिलो खेलमा थ्री स्टारले अर्को ललितपुरको क्लब सामना गर्दैछ र यो रहेको छ, सातदोबाटो ।
थ्री स्टारले लगातार दोस्रो डर्बी खेल्न लागेको हो । सातदोबाटोको लागि पनि यो लगातार दोस्रो ललितपुर डर्बी नै हो ।
यसअघि उसले आफ्नो पहिलो खेलमा फ्रेन्ड्सका सामना गरेको थियो ।
यसै वर्षदेखि मात्र सातदोबाटोले माथिल्लो डिभिजनमा खेल्न लागेको हुनाले थ्री स्टारविरुद्धको प्रतिस्पर्धा दुवै टिमका लागि पहिलो हुनेछ ।
फ्रेन्ड्सविरुद्धको आफ्नो एक मात्र खेलमा सातदोबाटोले गोलरहित बराबरी खेलेको थियो ।
तीन पटकको लिग च्याम्पियन थ्री स्टार भने अहिले लयमा छ र उसले आफ्नो पहिलो खेलमा च्यासललाई ३–० ले हराएको थियो ।
यससँगै थ्री स्टार ए डिभिजनका पछिल्ला पाँच खेलमा लगातार विजयी रहेको छ र यी सबै पाँच खेलमा क्लिन सिट राख्न पनि सफल रहेको छ ।
यस्तोमा थ्री स्टारसामु छैटौं जित निकाल्दै उपाधिमाथि आफ्नो बलियो दावेदारी प्रस्तुत गर्ने अवसर हुनेछ ।