काठमाडौं । ललितपुर टेवल टेनिस क्लबले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघमा गर्ने भएको छ ।
काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गर्दै क्लबले माघ १२ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।
प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, थाइल्यान्ड, युएई, कोरियासहित अन्य राष्ट्रबाट करिब एक हजार खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
यो प्रतियोगितामा पहिलो पटक विदेशी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
बंगलादेश र पाकिस्तानबाट भने दक्षिण एसियाली खेलकुदमा सहभागी भएका खेलाडीहरु आउने भएका हुन् ।
प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला एकल, पुरुष तथा महिला टिम, पुरुष तथा महिला भेट्रान एकल (४० वर्षमाथि) तथा पुरुष भेट्रान एकल (५५ वर्षमाथि) तर्फ प्रतिस्पर्धा हुनेछ ।
पुरुष र महिला एकल तथा पुरुष र महिला टिमतर्फका प्रथम र दोस्रो हुनेले क्रमश ५० हजार र २५ हजार नगद तथा सेमिफाइनलमा पराजय भोग्नेले १० हजार नगद हात पार्ने आयोजकले जनाएको छ ।
त्यसैगरी, भेट्रान एकलतर्फका प्रथम र उपविजेता हुनेले क्रमश १० हजार र ५ हजार नगद तथा सेमिफाइनलमा पराजित हुनेले २ हजार ५ सय पाउनेछन् ।
प्रतियोगिताको बजेट २१ लाख ५० हजार रहेको छ ।
यसैबीच ललितपुर टेबल टेनिस क्लब र सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिबीच मुख्य प्रायोजनका लागि सम्झौता भएको छ ।
क्लबका अध्यक्ष उर्दीप जोशी र सम्झना ल्याबोरेटरीका निर्देशक रजना श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सम्झना ल्याबोरेटरीले प्रतियोगिताको ५० प्रतिशत अर्थात १० लाख ७५ हजार खर्च व्योहोर्ने क्लबका अध्यक्ष जोशीले जानकारी गराए ।