काठमाडौं । सहिद स्मारक लिग 'ए' डिभिजन लिगको पहिलो चरण सकिएको छ र तीन दिनको अन्तरपछि दोस्रो चरणका खेल सुरु हुनेछन् ।
पहिलो चरणका सात खेलमा कुल १६ गोल भए । प्रत्येक खेलमा २.२८ को औसतले गोल भए । सात खेलमध्ये ६ खेलमा गोल भएको छ । फ्रेन्ड्स र सातदोबाटोबीचको खेल मात्र गोलरहित रह्यो ।
यी दुई टिम बाहेक जावलाखेल र च्यासलले गोलको खाता खोल्न सकेको छैन् । यी १६ गोलमध्ये पाँच पहिलो हाफमा भएका छन् भने दोस्रो हाफमा ११ गोल भएका छन् । इन्जुरी समयमा एकै गोल मात्र भएको छ । ब्रिगेड ब्वाइजका दिनेश राई र डिफेन्डिङ च्याम्पियन मछिन्द्रका सुनिल बलले दुई दुई गोल गरेका छन् ।
यस्तै हिमालयनका त्रिदेव गुरुङ, संकटाका लक्ष्मण रुचाल, थ्री स्टारका निशाख खड्का, राफायल विडिडास र अनन्त तामाङ, ब्रिगेड ब्वाइजका सुरज गुरुङ, एपीएफका आशिष लामा र बिके तामाङ, मनाङ मस्र्याङ्दीका दिनेश राजवंशी, आर्मीका विवेक वस्नेत, पुलिसका सन्तोष हेमरुन र एनआरटीका एरिक विष्टले एक एक गोल गरेका छन् ।
अहिलेसम्म सात खेलमा २१ पहेँलो कार्ड र एक रातो कार्ड देखाइएका छन् । त्यसमध्ये ब्रिगेड ब्वाइज र एपीएफबीचको खेलमा कुनै कार्ड देखाइन् ।
रातो कार्ड खाने एकै खेलाडी फ्रेन्ड्सका डिफेन्डर रोनेल एन्थोनी फ्रान्सिस्को रहेका छन् ।
सातदोबोटोविरुद्ध दोहोरो पहेँलो कार्ड रातोमा परिणत भएपछि उनी ७६ औं मिनेटमा मैदान छाड्न बाध्य रहे । यस्तोमा उनी दोस्रो चरण गुमाउन एक मात्र खेलाडी हुनेछन् ।