काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको नयाँ सिजनको पहिलो खेलमा जित निकाल्यो ।
सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले सुखद सुरुआत गरेको हो ।
मछिन्द्रलाई जित दिलाउन सुनिल बलले दुई गोल गरे । एनआरटीका एरिक विष्टले एक गोल फर्काए ।
पहिलो खेलमै जित निकालेपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवाल खुशी देखिए ।
'एनआरटीसँग नेपालमा भएका राम्रो अफ्रिकन स्ट्राइकर थिए । त्यसले गर्दा हामीलाई पहिलो खेलमा गार्हो हुन्थ्यो । त्यहिँ पनि हामीले ३ अंक पायौं । त्यसैमा खुशी छु ,' प्रवेशले भने, 'हामीले गोलको मौकाहरु धेरै बनाएका थियौं । हामीले रेफ्रीले गर्दा गोल खाएको जस्तो लाग्छ । समग्रमा हामीले ३ अंक सोचेको थियौं । यसैमा खुशी छौँ ।'
एनआरटीका मुख्य प्रशिक्षक राजुकाजी शाक्यले पहिलो खेलको नतिजाले आफु सन्तुष्ट रहेको प्रतिक्रिया दिए ।
'आज पहिलो खेलको नतिजाबाट सन्तुष्ट छु । पहिलो खेल हो, तालमेल मिलाउन गाह्रो हुन्छ । खेलाडीले राम्रो खेलेका हुन् । सानो गल्तिले गोल खान पुग्यौं,' शाक्यले भने, 'विदेशी खेलाडीले राम्रो खेले । तर, उनीहरुलाई सपोर्ट भएन ।'