काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी १-१ गोलको बराबरीमा सकिएको हो ।
खेल बराबरीमा सकिएपछि दुबै टिमका प्रशिक्षक नतिजाबाट सन्तुष्ट देखिए ।
आर्मीका सहायक प्रशिक्षक राजु तामाङले अट्याकीङमा चुकेपनि नतिजाबाट खुशी भएको बताए ।
''समग्रमा खेल राम्रो भयो । अट्याकीङ लाइन सेट नभएको हो की जस्तो भयो । खेलमा सन्तुष्ट छु,' आर्मीका सहायक प्रशिक्षक तामाङले भने, 'अलि गोलहरु निकाल्न सक्थ्यौ, त्यसमा हामी चुक्यौं । विपक्षी पनि राम्रै थियो ।'
पुलिसका मुख्य प्रशिक्षक अनन्तराज थापाले ३ अंकको लागि खेलेको भएपनि १ अंकमा खुशी भएको बताए ।
'हाम्रो खेल स्पिडी थियो । आक्रामक पनि । हामीले अग्रता लिए पनि त्यसलाई राखिरहन सकेनौँ। हाम्रै एक खेलाडीको गल्तीको कारणले हामीले गोल खान पुग्यौँ,' प्रशिक्षक थापाले भने, 'आर्मी साविक उपविजेता हो । तर, बराबरी भयो । एक वा ३ अंकका लागि आएको छ । तर खुसी नै छौं भनौँ। तीन अंक आएको थियौं । तर, पहिलो खेलमा एक अंक नै राम्रो हो।'