काठमाडौं । नेपाली घरेलु फुटबलमा धेरै होइन्, केही वर्ष अगाडिसम्म पुलिस धेरै अगाडि थियो । त्यसको अगाडि आर्मी ओझेलमा परेको थियो ।
तर, अहिले दिन फेरिएका छन् । अहिले आर्मी अगाडि छ र उसले लिगमा उपाधिका लागि चुनौती पेस गर्ने गर्छ ।
पुलिस भने पछाडि परेको छ र उसका खेलाडीलाई गुनासो गर्दैमा ठीक्क छ । यसको सिधा सिधा असर लिगमा त पर्ने नै भयो । सहिद स्मारक लिग ए डिभिजन २०७८ मा सोमबार यिनै दुई टिम आमना सामना हुनेछन् ।
जहाँ आर्मीको उद्देश्य यसपल्ट पनि उपाधि जित्नका लागि खेल्ने हुनेछ, त्यहीं पुलिस मिड टेबलमै खुसी हुने टिम देखिएको छ । लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्दा पनि यस्तै देखिन्छ ।
आर्मी पछिल्ला तीन खेलमा पुलिसविरुद्ध अपराजित छ । आर्मीले वर्ष ०७५ मा पुलिसलाई १–० र वर्ष ०७६ मा ४–२ ले हराएको थियो । वर्ष ०७० मा दुई टिमले १–१ को बराबरी खेले ।
वर्ष ०६९ मा यी दुई टिमको दुई पल्ट भेट भयो, जसमा सुरुमा पुलिस २–१ ले विजयी रह्यो भने त्यसपछि आर्मी १–० ले । वर्ष ०६८ मा भने पुलिस ४–१ ले सजिलै विजयी रहेको थियो ।