काठमाडौं । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आफ्नो पहिलो खेलमा संघर्षपूर्ण जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङले जावलाखेल युथ क्लबमाथि १-० गोलको जित निकालेको हो ।
मनाङको जितमा दिनेश राजवंशीले निर्णायक गोल गरे ।
खेलपछि मनाङका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जित सोचेको र त्यहिँ अनुसार नतिजा निस्किएको बताए ।
'प्रशिक्षक हिसाबमा आज मलाई कुनै दबाब थिएन । मनाङ ठूलो क्लब हो । त्यसैले खासै योजना बनाउनु पर्दैन प्रशिक्षकको रुपमा,' उनले भने, 'खेलाडीहरु हाइ लेभलको छ त्यसैले आज खासै योजना बनाएर आएको थिएन । जित त हुन्छ भन्ने थियो तर दबाब खाईयो अलिकति ।'
प्रशिक्षक तामाङले जावलाखेलले समेत राम्रो खेलेको बताए ।
'जावलाखेल नराम्रो टिम थिएन । जावलाखेलले मौकाहरु धेरै बनाएको थियो । हामीले जुन खेल खेल्नु पर्ने थियो । अट्याकीङमा जुन पोजिसन राख्नु पर्ने थियो त्यो ठाउमा राख्न सकिएन । पछि पोजिसन राखेपछि हामीले उनीहरुलाई अलिकति दबाब दियौं । गोल समेत निस्कियो,' उनले थपे।
जावलाखेलका मुख्य प्रशिक्षक किशोर केसीले धेरै मौका पाएपनि जितबाट बन्चित भएको बताए ।
'दुबैले मौकाहरु बराबरी सिर्जना गरेको हो । हामीले पनि सिर्जना गरेको हो । पहिलो हाफमा दुबैको बराबरीकै पोजिसन थियो । दोस्रो हाफमा हामीले गोल खान पुग्यौं । किपरको समेत गल्ति छ,' उनले भने, 'त्यो गल्ति भईसकेपछि त्यसलाई सुधार गर्नका लागि मैले विभिन्न औजारहरु प्रयोग गरे । त्यो औजार प्रयोग गरेर पनि सकिन । चार जना स्ट्राइकर प्रयोग गरे तर सकेनौं । हामीले तीन चार वटा राम्रो राम्रो मौका पाउदा पनि हामी जितबाट बन्चित हुनु पर्यो । दुख लागेको छ ।'