काठमाडौं । कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा विजयी सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मनाङले सुखद सुरुआत गरेको हो ।
मनाङलाई जित दिलाउन दिनेश राजवंशीले निर्णायक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिनेशले खेलको ५७ औं मिनेटमा निर्णायक गोल गरेका हुन् । दयानन्द सिंहको कर्नरमा उनले हेडरमार्फत उत्कृष्ट गोल गरे ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले गोलको अवसर खेर फालेका थिए ।
खेलको ३० औं मिनेटमा पुजन उपरकोटीको फ्रिकिकमा आफिज ओलावालेले गोल गरेका थिए । तर,अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।
४५ औं मिनेटमा सुरज ज्यु ठकुरीको कर्नरमा ओनगुना जुनियरको हेड प्रहार क्रस बारमा लागेर फर्किएको थियो । जसको कारण जावलाखेल सुरुआती गोल गर्न चुकेको थियो ।
खेलको ४६ औं मिनेटमा अन्जन विष्टको पासमा मनाङका ओलावालेको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले सहजै बचाए ।
यस्तै ४९ औं मिनेटमा मनाङका दयानन्द सिंहले गोलकिपर बिट भएको अवस्थामा प्रहार गरेको बल पोस्टको माथिबाट बाहिरिएको थियो ।
५४ औं मिनेटमा मनाङका कप्तान अन्जन विष्टको हेडर पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेलको ७८ औं मिनेटमा जावलाखेलले गोलको अवसर गुमायो । रुप बहादुर लामाको पासमा पेमा शेर्पाले बल नियन्त्रणमा लिन सकेनन् ।
त्यस्तै खेलको ८९ औं मिनेटमा मनाङका ओलावालेले गोलको सुनौलो अवसर गुमाए । अन्जन विष्टको पासमा पेनाल्टी क्षेत्रमा अनमार्क रहेका ओलावाले बाहिर प्रहार गरे ।
मनाङका गोलकर्ता दिनेश म्यान अफ दि म्याच चुनिए ।
लिग अन्तर्गत भोलि सोमबार दुई खेलहरु हुनेछ ।
पहिलो खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै दोस्रो खेलमा साविक विजेता मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुनेछ ।