काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले जित निकाल्यो ।
आइतबार भएको खेलमा विभागीय टिम एपीएफ एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले सुखद सुरुआत गरेको हो ।
पहिलो खेलमा जित निकालेपछि ब्रिगेडका मुख्य प्रशिक्षक सनोज श्रेष्ठ खुशी देखिए । पहिलो जितले टिमलाई ठूलो राहत मिलेको उनले बताए ।
'पहिलो खेल थियो । खेल प्रतिस्पर्धात्मक भयो । दुबै टिमले राम्रो खेलेको थियो । पहिलो खेलमा जित निकाल्नु महत्वपूर्ण थियो । टिमलाई ठूलो राहत मिलेको छ । मोरल सपोर्ट हुन्छ,' उनले भने ।
यस्तै श्रेष्ठले आगामी खेलमा थप सुधार गर्दै लैजाने बताए ।
'हामीले म्यान मार्कीङ नगर्दा गोल खायौं,' उनले थपे, 'विदेशी खेलाडीको तालमेल अझै मिलेको छैन । अन्य खेलमा गल्तीलाई सुधार गर्दै जानेछौं ।'
एपीएफका मुख्य प्रशिक्षक कुमार थापाले खेलाडीले योजना अनुसार खेल्न नसक्दा पराजित भएको बताए ।
'जुन प्लान बनाएका थियौं । खेलाडीले त्यस अनुसार खेल्न सकेनन् । आगामी खेलमा सुधार गर्दै जानुको विकल्प छैन,' उनले भने ।