काठमाडौं । नेपाल टेनिस संघको आयोजनामा काठमाडौं÷एसियन यु–१४ वरीयता टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ सोमबारदेखि सुरु हुँदै छ ।
प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र अमेरिकाका १७ ब्वाइज र १६ गर्ल्स गरी ३३ खेलाडीको सहभागी हुने नेपाल टेनिस संघका सदस्य समेत रहेका प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।
नेपालका १५ ब्वाइज र १४ गर्ल्स, भारतका समान १–१ ब्वाइज÷ गर्ल्स, पाकिस्तानका १ ब्वाइज तथा अमेरिकाका १ गर्ल्स खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् ।
प्रतियोगितामा सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा हुने छ । खेलहरु सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा खेलाइने छ ।
सर्किट– १ गत शुक्रबार सम्पन्न भएको थियो । सर्किट– १ मा पनि सिंगल्स र डबल्स स्पर्धामा खेल भएको थियो । दुवै स्पर्धामा नेपाली खेलाडीले शीर्ष स्थान हात पारेका थिए ।
सिंगल्सको ब्वाइजमा सक्षमविक्रम शाह र गर्ल्स सुनिरा थापा पहिलो भएका थिए ।
डबल्सको ब्वाइजमा सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा गर्ल्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडीले स्वर्ण चुमेका थिए । सर्किट– २ शुक्रबारसम्म चल्ने छ ।