काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुआत गरेको छ ।
आइतबार भएको खेलमा विभागीय टिम एपीएफ एफसीलाई ३-२ गोल अन्तरले पराजित गर्दै ब्रिगेडले सुखद सुरुआत गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्रिगेडलाई जित दिलाउन दिनेश राईले दुई गोल गरे । सुरज गुरुङको नाममा एक गोल रह्यो ।
एपीएफका आशिष लामा र बिकी तामाङले एक एक गोल फर्काए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता पनि ब्रिगेडले बनाएको थियो ।
खेलको ११ औं मिनेटमा दिनेश राईले करिब ३५ यार्डबाट फ्रिकिकमा सेकेण्ड बारमा सुन्दर गोल गरे ।
१७ औं मिनेटमा एपीएफले बराबरी गोल फर्कायो । आवास लामिछानेको क्रसमा आशिष लामाले वान टचमा गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए ।
खेलको ४४ औं मिनेटमा ब्रिगेडका रोशन राना मगरको प्रहार पोस्ट बारमा लागेर फर्किएको थियो ।
४९ औं मिनेटमा एपीएफका आशिषको प्रहार समेत बारमा लागेर फर्किदा एपीएफ अग्रता बनाउन चुकेको थियो ।
खेलको ६५ औं मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २-१ को अग्रता दिलाए । ड्याडी जुनियरको पासमा उनले उत्कृष्ट गोल गरे ।
खेलको ७७ औं मिनेटमा रबि थिङको पासमा बिकी तामाङले गोल गर्दै एपीएफलाई २-२ गोलको बराबरीमा ल्याए ।
तर, खेलको इन्जुरी समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३-२ को जित दिलाए ।
जितसँगै नयाँ सिजनको पहिलो खेलमा ब्रिगेडले महत्वपूर्ण ३ अंक जोडेको छ ।
एपीएफले भने हारबाट सिजनको सुरुआत गरेको छ ।
खेलको म्यान अफ दि म्याच ब्रिगेडका रोशन राना मगर चुनिए ।