काठमाडौं । सातौं नेपालगन्ज म्याराथनको पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
आयोजक क्रिएटिभ ह्यान्ड्सले बिहीबार पत्रकार सम्मेलन गर्दै म्याराथनको पुरस्कार राशीमा वृद्धि गरिएको जनाएको छ ।
यस पटक म्याराथनतर्फको विजेतालाई १ लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिने अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
त्यसैगरी हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् ।
१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।
त्यैगरी स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् ।
ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।
यस्तै आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्कीले राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई नगद २५ हजारले अलग पुरस्कृत गर्ने र विदेशी भुमिमा राष्ट्रिय रेकर्ड बनाउने खेलाडीलाई नगद ५० हजारले पुरस्कृत गर्ने घोषणा गरे ।
यस पटकको प्रतियोगिता मंसिर ४ गते शनिबार आयोजना हुँदैछ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा २०६३ मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिवार नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए ।
त्यस्तै महिला हाफ म्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।