काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त आज हुँदैछ ।
उपाधिका लागि अष्ट्रेलिया र न्युजिल्याण्ड भिड्ने छन् । दुबईमा हुने उपाधि भिडन्त नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मैदान उत्रदा दुबै टिम पहिलो पटक टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्ने योजनामा हुनेछन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
अहिलेसम्म अष्ट्रेलिया र न्युजिल्याण्डले टी-ट्वान्टी विश्वकपको उपाधि उचाल्न सकेको छैन ।
अष्ट्रेलिया दोस्रो पटक टी-ट्वान्टी विश्वकपको फाइनल पुगेको हो । यस अघि सन् २०१० को संस्करणमा अष्ट्रेलिया फाइनल पुगेको थियो ।
न्युजिल्याण्ड भने पहिलो पटक फाइनल पुगेको हो । यस अघि न्युजिल्याण्डले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।
जारी विश्वकपमा दुबै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो।
यस्तै न्युजिल्याण्डले सेमिफाइनलमा एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्डलाई ५ विकेटले नै हराएको थियो ।
दुई टिमबीचको पछिल्लो हेड टु हेडमा न्युजिल्याण्ड बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा न्युजिल्याण्डले तीन खेल जितेको छ । अष्ट्रेलियाले दुई खेलमा जित निकालेको छ ।