काठमाडौं । विश्वकप क्रिकेटको सेमिफाइनलमा खेल्नु अघि मोहमद रिजवान अस्पतालमा भर्ना भएको खुलेको छ ।
पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान रिजवानले सेमिफाइनल खेल्नु अघि ३६ घण्टा आइसीयूमा बिताएको खुलेको हो ।
रिजवानको छातीमा संक्रमण देखिएपछि उनलाई दुबईको हस्पिटलमा भर्ना गरिएको थियो ।
गत बिहीबार टी ट्वान्टी विश्वकपको सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलियासँग खेलेको थियो । पाकिस्तानले सेमिफाइनलमा १ सय ७६ रन बनाउँदा रिजवानले ६७ रन बनाएका थिए ।
तर पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलिया फाइनल पुग्यो ।
'रिजवानलाई नोभेम्बर ९ मा छातिमा गम्भीर संक्रमण देखिएपछि उनलाई हस्पिटलमा भर्ना गरिएको थियो ।' पाकिस्तानी टोलीका चिकित्सक नजीबुल्लाह सुमरोले भने, 'उनले दुई रात आइसीयूमा रिकभरीमा बिताएका थिए । उनले अविश्वसनीय रिकभरी गरे र खेल भन्दा पहिले फिट बनेका थिए ।'
'उनको स्वास्थ्यको बारेमा निर्णय सम्पुर्ण टिम व्यवस्थापनले गरेको थियो । यो सम्पुर्ण टोलीको मनोबलको बारेमा थियो । त्यसैले हामीले यसलाई टोलीभित्र राख्यौं । हामीले उनको उत्कृष्ट दृढता देख्न सक्छौं । जसले उनको प्रर्दशन गर्ने भावना देखाउँछ । हामी देख्न सक्छौ उनले सेमिफाइनलमा कसरी खेले ।' उनले भने ।
प्रतियोगिताको दौरान रिजवानको स्वास्थ्य अवस्थाका बारेमा कुनै जानकारी गराईएको थिएन ।
रिजवान र रोयब मलिकले पाकिस्तानको अभ्यास सत्र समेत गुमाएका थिए । दुवैलाई रुघा खोकीको संक्रमण देखिएको बताईएको थियो । दुवैको कोभिड परिक्षण नेगेटिभ आएको थियो ।
रिजवान टिमका मुख्य खेलाडी हुन्, जसले सुरुवातमा ब्याटिङ गर्थे । उनी प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । उनी आइसीसीको क्यालेन्डरमा एकै वर्षमा टी ट्वान्टीमा एक हजार रन पुरा गर्ने पहिलो खेलाडी हुन् ।