काठमाडौं । अष्ट्रेलियाले यसै महिनामा हुन लागेको अफगानिस्तान पुरुष क्रिकेट टिम विरुद्धको टेस्ट खेल तत्कालका लागि स्थगित गरेको छ ।
अष्ट्रेलियाले होवार्टमा अफगानिस्तानसँग नोभेम्बर २६ मा एउटा टेस्ट खेल्ने तय भएको थियो ।
तर तालिवानबाट शासित अफगानिस्तानको अवस्था स्पष्ट नभएसम्मको लागि अफगानिस्तान विरुद्धको टेस्ट स्थगित गरेको हो ।
इंग्ल्यान्डविरुद्धको एसेज श्रृङखला अघि अफगानिस्तानसँग पहिलो पटक अष्ट्रेलियाले टेस्ट खेल्ने तय भएको थियो ।
तालिवान शासकहरुले अगस्टमा सत्ता आफ्नो कब्जामा लिएपछि महिलाहरुलाई क्रिकेट अथवा अन्य खेलका लागि अनुमति नदिने जनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को नियम अनुसार टेस्ट खेल्नका लागि सबै १२ वटा फुल मेम्बरहरुसँग महिलाको राष्ट्रिय क्रिकेट टोली हुनुपर्छ ।
गत वर्ष नोभेम्बर २५ मा अफगानिस्तान क्रिकेट बोर्डले महिला क्रिकेटरसँग सम्झौता गरेको थियो ।