एजेन्सी ।
‘द वाल’ । अर्थात पर्खाल ।
राहुल द्रविड यही उपनामले चिनिन्छन् । भन्नेले उनलाई ‘मिस्टर डिफेन्डेबल’ पनि भन्छन् ।
‘द वाल’ किन त ?
किनभने खेल्ने बेला उनी क्रिजमा पर्खाल जस्तै उभिन्थे । उनको संयमित र ठोस ब्याटिङ अगाडि विपक्षी बलर हायल कायल हुन्थे । त्यसैले उनी ‘द वाल’ भए ।
अनि ‘मिस्टर डिफेन्डेबल’ किन त ?
किनभने जति जति बेला भारतीय टिम संकटमा पर्दथ्याे, कोही कसैमाथि भरोसा गर्न सकिन्थ्यो भने त्यो द्रविड नै थिए । उनी संकट मोचक थिए । त्यसैले उनी ‘मिस्टर डिफेन्डेबल’ पनि भए ।
अहिले उनको चर्चा किन भन्दा उनी भारतीय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् ।
अहिले चलिरहेको ट्वान्टी ट्वान्टी विश्वकपपछि उनले भारतीय टिम सम्हाल्ने छन् ।
त्यसैले अब भारतीय टिमलाई उनले नै हाँक्ने छन् । र, तय छ, उनको आगमनसँग भारतीय टिमका समर्थक बढ्ने छन्, होइन भने पनि भारतीय टिममाथि मनको एक कुनामा सहानुभूमि राख्ने बढ्ने छन् ।
किन त ?
यसको पनि ठोस कारण छ ।
द्रविड राम्रा त ब्याट्सम्यान त थिए नै, उनी उत्तिकै भलाद्मी मान्छे पनि हुन् ।
जस्तै विपक्षी टिम पनि उनको ‘जेन्टलम्यान’ व्यवहार अगाडि नतमस्तक हुन्छन् नै । खासमा ठ्याक्कै भन्दा भारतीय टिम नपराउने पनि त्यस्ता धेरै छन्, जसले कम्तीमा द्रविडको भने समर्थन गर्छन्, उनलाई मन पराउने गर्छन् ।
जे होस, यी भारतीय टिमका यी पूर्व कप्तानले अब प्रशिक्षकको भूमिका पनि उत्तिकै ढंगले सम्हाल्ने अपेक्षा गर्न सकिन्छ ।
फेरि उनका लागि प्रशिक्षण कुनै नयाँ नौलो पनि होइन् । यसअघि उनले भारतीय टिमको यू-१९ र भारतीय ए टिम त सम्हालिसकेकै छन् । त्यो भन्दा ठूलो उनी कुनै समय भारतको नेसनल क्रिकेट एकेडेमीका पनि प्रशिक्षक थिए ।