काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको छनोटको तयारीका लागि नेपाली महिला क्रिकेट टिम आज (बिहीबार) बंगलादेश प्रस्थान गर्दैछ ।
विश्वकपको एसिया छनोटको तयारी स्वरुप नेपाल एक हप्ताको तयारीका लागि बंगलादेश जान लागेको हो ।
नोभेम्बर ४ तारिखदेखि ११ तारिखसम्म बंगलादेशमा रहदा नेपालले चारवटा अभ्यास खेल खेल्नेछ ।
छनोट प्रतियोगिता युएईमा नोभेम्बर १९ देखि २९ तारिखसम्म हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले हङकङसँग नोभेम्बर २२ मा खेल्नेछ । नेपालले दोस्रो खेल भुटानविरुद्ध २३ तथा तेस्रो खेल कुवेतविरुद्ध २५ तारिखमा खेल्नेछ ।
चौथो खेल मलेसियासँग २६ तारिख तथा पाँचौ खेल २८ तारिखमा युएईविरुद्ध खेल्ने तालिका रहेको छ ।
प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।
प्रतियोगिताको लागि नेपालले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्य टोलीको घोषणा गरिसकेको छ ।
नेपाली टोलीमा रुबिनासँगै डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई रहेका छन् ।
त्यसैगरी सरस्वति जिएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी बैकल्पिक खेलाडीका रुपमा रहेका छन् ।
प्रशिक्षकमा जगत टमटा र टिम व्यवस्थापकमा जयन्ती भट्ट छन् ।
नेपालले अक्टोबर २० तारिखदेखि अभ्यास सुरु गरेको थियो ।