काठमाडौं । विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग(एलपीएल) लाई भिभो मोबाइल कम्पनीले मोबाइल पार्टनरका रूपमा प्रायोजन गरेको छ ।
भिभो मोबाइल कम्पनी र एलपीएलको आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सबीच प्रतियोगिताको मोबाइल पार्टनरको रुपमा सम्झौता भएको हो ।
प्रतियोगिताको आगामी संस्करणमा मोबाइल पार्टनर रहने गरी लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाही र भिभोका एरिया सेल्स म्यानेजर अर्जुन मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
धनगढीमा हुने प्रतियोगिता आगामी माघ दोश्रो साताबाट सञ्चालन हुने आयोजकले जनाएको छ ।
उमेर समूहको प्रतियोगितालाई प्रबर्द्धन गर्ने उद्धेश्यले पश्चिम नेपालमा हरेक वर्ष लिटल फ्लावर प्रिमियर लिग सञ्चालन हुदै आएको छ ।
प्रतियोगिताका अध्यक्ष शाहीले कोरोनाबाट विश्वनै प्रभावित बनेपनि विद्यालय स्तरका खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगितालाई निरन्तरता दिईने बताए ।
प्रतियोगितामा देशभरका १० विद्यालय स्तरीय टिम सहभागी हुनेछन् । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा १० टिमलाई दुई समूहमा विभाजन गरेर खेलाइने छ ।