काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकपमा बंगालदेशविरुद्ध आज (बिहिबार) मैदान उत्रदै गर्दा अष्ट्रेलिया जितको खोजीमा हुनेछ ।
सुपर १२ को समूह १ अन्तर्गत बंगालदेश र अष्ट्रेलियाबीचको खेल दुबईमा दिउँसो पाैने ४ बजे सुरु हुनेछ ।
यस समूहमा लगातार चार खेल जित्दै इंग्ल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको अवस्थामा अघिल्लो चरणको सम्भावना कायमै राख्न अष्ट्रेलिया खेल जित्नै पर्ने दबाबमा हुनेछ ।
तीन खेलमध्ये दुईमा जित र एकमा हार व्योहोरेको अष्ट्रेलियाको चार अंक छ । अष्ट्रेलियाले दक्षिण अफ्रिका र श्रीलंकालाई पराजित गरेको थियो भने इंग्ल्यान्डसँग पराजय भोगेको थियो ।
तर चार खेलमध्ये तीनमा जित हात पारेको दक्षिण अफ्रिका ६ अंक सहित इंग्ल्यान्डपछि समूहको दोस्रो स्थानमा रहेको छ ।
श्रीलंका र वेस्ट इन्डिज समान दुई–दुई अंकसहित चौथो र पाँचौ स्थानमा रहेका छन् ।
यता बंगलादेशले भने अघिल्ला सबै चार खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । तर बंगलादेश भने अष्ट्रेलियालाई पराजित गर्दै प्रतियोगितामा सुखद अन्त्यको खोजीमा छ ।
बंगालदेशले इंग्ल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका तथा वेस्ट इन्डिजविरुद्ध पराजय भोगेको थियो । आजै हुने दोस्रो खेलमा वेस्ट इन्डिजले श्रीलंकाको सामना गर्नेछ ।