काठमाडौं । आरभ सम्राट हाडा र सलोनी तामाङ्ग गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
मंगलबार भएको फाइनलमा पुरुषतर्फ आरभरले ऋतिक राणालाई ६–३, २–६ र ६–१ ले तथा महिलातर्फ सलोनीले प्रेरणा कोईरालालाई ६–३, ६–४ ले पराजित गदै उपाधी उचालेका हुन् ।
गणेशमान सिंह फाउण्डेशन र नेपाल टेनिस संघको आयोजनामा भएको प्रतियोगितामा पुरुष युगलतर्फ प्रदीप खड्का र अनिल शाहीको जोडीले बाजी मारे ।
सो जोडीले अकि जुवेन राउत र निहाल जंग बहादुर थापाको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्यो ।
३५ बर्ष माथिको पुरुष युगलतर्फ कमल बहादुर भण्डारी र सिमान्त गुरुङ्गको जोडीले उपाधि उचाले । सो जोडीले निरज थापा र लोक गुरुङ्गको जोडीमाथि ६–४, १–६ र १०–८ को कठिन जित निकाले ।
सातदोवाटोस्थित टेनिस कोर्टमा आयोजना भएको प्रतियोगिताको ४५ बर्ष माथिको पुरुष एकलमा सिजर गुुरुङ्गलाई पछि पार्दै विमल कुमार गुरुङ्गले उपाधी उचाले ।
विमलले सिजर माथि ६–१, ६–१ को समान अन्तरले पराजित गरे ।
यस्तै, युगलतर्फ चन्द्र शाही र देगेन्द्र श्रेष्ठको जोडीले राजु श्रेष्ठ र महेश श्रेष्ठको जोडी माथि ६–२, ६–३ ले जित निकाले ।
५५ बर्ष माथिको प्रतिस्पर्धामा भेट्रान खेलाडी कमल थापा र छम्ब धोन्दुपको जोडीले कृष्ण राज घले र सुवर्ण धाख्वाको जोडीलाई ६–८, ६–१ र १०–८ ले पराजित गर्यो ।
उपाधि विजेता खेलाडीलाई काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पुरस्कृत गरेका थिए ।