काठमाडौं । सातौं संस्करणको नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ ।
आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार प्रतियोगितामा महानायक हमालको उपस्थिति रहने जनाएको छ ।
'यसपटक म्याराथनका सहभागीहरुको हौसला बढाउनका लागि महानायक राजेश हमालको विशेष उपस्थिति रहनेछ,' विज्ञप्तिमा भनिएको छ, 'युवा पुस्ताका प्रेरणाका श्रोत राजेश हमालको उपस्थितिले म्याराथनका आयोजकसँगै प्रायोजक, स्थानिय सहयोगी संघ, संस्था र स्थानियहरुको पनि हौसला बढ्ने विश्वास हामीले लिएका छौं ।'
प्रतियोगिता आगामी मंसिर ४ गते शनिबार हुनेछ ।
नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै आयोजकले हरेक मंसिर पहिलो शनिबार म्याराथनको आयोजना गर्दै आएको छ ।
यस पटक बिभिन्न दश वटा विधामा स्पर्धा गर्न सकिने उनले बताए । पुरुषतर्फ म्याराथन(४२.१९५किमी), महिलातर्फ हाफ म्याराथन, १० किमी पुरुष खुल्ला, ५ किमी महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र, ३ किमी स्कुल स्तरीय छात्रा, किड्स रन(८देखि १२ बर्ष उमेरसमुह), २ किमी कर्पोरेट रन, एक किमी ट्राइसाइकल र वाकाथन समावेश गरिएको छ ।