काठमाडौं । बंगलादेशले युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दोस्रो जित निकालेको छ ।
ओमान क्रिकेट मैदानमा बिहीबार पपुवा न्यू गिनी (पीएनजी) लाई ८४ रनले पराजित गर्दै बंगलादेशले दोस्रो जित निकालेको हो ।
बंगलादेशले दिएको १ सय ८२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पीएनजी १९ ओभर ३ बलमा अलआउट हुँदै ९७ रनमा समेटियो ।
पीएनजीका किप्लिन डोरिगाले सर्वाधिक ४६ रन बनाए । चाड सोपेरले ११ रन जोड्दा कप्तान असाद भाला ६ रनमा आउट भए ।
पीएनजीलाई सस्तैमा समेट्न बंगलादेशका शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीन र ताक्सिन अहमेदले २/२ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
बंगलादेशका लागि कप्तम महमुदउल्लाहले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शकिब अल हसनले ४६ रन जोड्दा लिटोन दासले २९ रन बनाए ।
आफिफ होसेन २१ तथा मोहमद सैफुदीनले अविजित १९ रन बनाए ।
पीएनजीका डामिन राभु, काबुआ मोरिया र असाद भालाले २/२ विकेट लिए ।
यस जितसँगै बंगलादेशले सुपर १२ मा स्थान बनाएको छ ।
पहिलो चरणको ‘बी’ को बंगलादेशले ३ खेलमा ४ अंक जोडेको छ ।
बंगलादेश शीर्ष स्थानमा समेत उक्लिएको छ ।
पीएनजीको यो लगातार तेस्रो हार हो । यस हारसँगै पीएनजी प्रतियोगिताबाट बाहिरिएको छ ।