काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमटाले विश्वकप खेल्ने सपनासहित टिमले तयारी गरिरहेको बताएका छन्।
टियु क्रिकेट मैदानमा बुधबार संचारकर्मीसँग कुराकानी गर्दै मुख्य प्रशिक्षक टमटाले टिमले विश्वकप खेल्ने योजनासहित तयारी गरिरहेको बताएका हुन् ।
'कुनैपनि प्रतियोगिता त्यति सहज हुदैन । मान्छेले सोच्ला तर सानो क्लब स्तरको खेल्दा त सहज हुदैन । राष्ट्रको लागि खेल्दै छौँ विश्वकप छनोट हो,' प्रशिक्षक टमटाले भने, 'सबैको चाहना छ र सपना छ की नेपाललाई छनोट गराएर विश्वकप खेल्ने । त्यसका लागि उनीहरुले मेहेनत गरेको छ ।'
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपालले बुधबारबाट अन्तिम चरणको बन्द प्रशिक्षण थालेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम चरणको बन्द प्रशिक्षणका लागि २४ खेलाडीलाई बोलाएको छ ।
प्रशिक्षक टमटाले बन्द प्रशिक्षण नहुदा समेत खेलाडीले मेहेनत गरेको कारण तयारी राम्रो भईरहेको बताए ।
'बन्द प्रशिक्षण नहुँदा समेत उनीहरुले मेहेनत गरेको छ । उनीहरुलाई म कदर गर्छु,' प्रशिक्षक टमटाले भने, 'समग्रमा राम्रो भईरहेको छ । कोभिडले गर्दा केहि ज्ञाप बढी भएको छ । तर, अबको एक महिना हाम्रो लागि महत्वपूर्ण छ । जसमा हामी खेलमा केन्द्रित गर्छौं । क्यानलाई प्रोग्राम दिएको छु । उहाँहरु त्यसमा लाग्नु भएको छ ।'
युएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ । छनोटमा ६ वटा टिम सहभागी छन् । जसमा नेपालसहित युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।
बन्द प्रशिक्षणमा कप्तान रुबिना क्षेत्री सहित काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, सङ्गिता राई र सरस्वती चौधरी परेका छन् ।
यस्तै अनुराधा चौधरी, अश्मिना कर्माचार्य, कन्चन श्रेष्ठ, सरस्वती जीएम, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुवर, डलि भट्ट, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योति पाण्डे, इश्वरी विष्ट, करुणा भण्डारी र सरिता मगर टिममा रहेका छन् ।