काठमाडौं । बंगलादेशले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।
ओमान क्रिकेट एकेडेमीमा मंगलबार राति भएको खेलमा ओमानलाई २६ रनले पराजित गर्दै बंगलादेशले पहिलो जित निकालेको हो ।
बंगलादेशले दिएको १ सय ५४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सक्यो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ४० रन बनाए । कश्यप प्रजापतिले २१ रन जोड्दा कप्तान जिसन मक्सुदले १२ रन बनाए । मोहमद नादिम १४ रनमा अविजित रहे ।
ओमानलाई सस्तैमा समेट्न बंगलादेशका मुस्ताफिजुर रहमानले ४ विकेट लिए । यस्तै शकिब अल हसनले ३ तथा मोहमद सैफुदीन र मेहदी हसनले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा अलआउट हुँदै १ सय ५३ रन बनाएको थियो ।
बंगलादेशका लागि मोहमद नाइमले ६४ रनको अर्धशतकीय इनिङ्स खेले । शकिब अल हसनले ४२ रन जोड्दा कप्तान महमुदउल्लाहले १७ रन बनाए ।
ओमानका बिलाल खान र फायज बटले ३/३ विकेट लिए । कालिमउल्लाहले २ विकेट लिए ।
यस जितसँगै पहिलो चरणको समूह बी मा रहेको बंगलादेशले २ खेलमा २ अंक जोडेको छ ।
पहिलो खेलमा बंगलादेश स्कटल्याण्डसँग पराजित भएको थियो ।
ओमानको यो पहिलो हार हो । पहिलो खेलमा ओमानले पपुवा न्युगिनीलाई हराएको थियो ।
ओमानले २ खेलमा २ अंक जोडेको छ ।