काठमाडौं । स्कटल्याण्डले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
ओमान क्रिकेट एकेडेमीमा मंगलबार पपुवा न्युगिनीलाई १७ रनले पराजित गर्दै स्कटल्याण्डले दोस्रो जित निकालेको हो ।
स्कटल्याण्डले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो ।
पपुवा न्युगिनीका नोर्मन भानुले सर्वाधिक ४७ रन बनाए । सेसे बाउले २४ रन जोड्दा कप्तान असाद भाला र किप्लिन डोरिगाले १८/१८ रन जोडे । चाड सोपेरले १६ रन बनाए ।
स्कटल्याण्डका जोस डाभेले ४ विकेट लिए ।
यस अघि स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
स्कटल्याण्डका रिची बेरिङटोनले ७० रनको अर्धशतकीय इनिङ्स खेले । म्याथ्यु क्रसले ४५ रन जोड्दा जर्ज मुन्सेले १५ रन बनाए ।
पपुवा न्युगिनीका काबु मोरियाले ४ तथा चाड सोपेरले ३ विकेट लिए ।
यस जितसँगै पहिलो चरणको समूह बी मा रहेको स्कटल्याण्डले २ खेलमा ४ अंक जोडेको छ ।
स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
पपुवा न्युगिनीको यो लगातार दोस्रो हार हो ।