काठमाडौं । युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको पहिलो खेलमै बंगलादेश पराजित भएको छ।
आइतबार राति भएको पहिलो चरणको खेलमा बंगलादेश एसोसियट राष्ट्र स्कटल्याण्डसँग ६ रनले पराजित भएको हो ।
ओमानको अल अमारत स्टेडियममा स्कटल्याण्डले दिएको १ सय ४१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।
बंगलादेशका मुस्फिकर रहिमले ३८ रन जोड्दा शकिब अल हसनले २० रन बनाए ।
कप्तान महमुदउल्लाहले २३ रन जोडे भने अफिफ होसेनले १८ रन बनाए । मेहदी हसन १३ रनमा अविजित रहे ।
स्कटल्याण्डका ब्राड ह्विलले ३ तथा क्रिस ग्रिभ्सले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।
स्कटल्याण्डका क्रिस ग्रिभ्सले ४५ रन बनाए । यस्तै जर्ज मुन्सेले २९ रन जोड्दा मार्क वाटले २२ रन बनाए । माथ्यु क्रस ११ रनमा आउट भए ।
बंगलादेशका मेहदी हसनले ३ विकेट लिए । मुस्ताफिजुर रहमान र शकिब अल हसनले २/२ विकेट लिए ।
विश्वकपको पहिलो चरण अन्तर्गत नै ओमानले विजयी सुरुआत गरिसकेको छ ।
आइतबार नै भएको खेलमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको हो ।
विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
पहिलो चरणमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी रहेका छन् ।
पहिलो चरणबाट चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।