काठमाडौं । दक्षिण एसियाली फुटबलमा भारतले एकछत्र राज गर्दै आईरहेको इतिहासले बताउने गरेको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आयोजना गर्ने साफ च्याम्पियनसिपमा भारतकै दबदबा छ । १२ औं संस्करणसम्म भारतले ७ पटक उपाधि जितेको छ ।
१३ औं संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना भईरहेको छ । आज शनिबार हुने फाइनलमा भिड्ने छन्, भारत र नेपाल ।
नेपाल पहिलो पटक साफको उपाधि जित्ने योजनामा हुनेछ । भारत आठौं पटक उपाधि आफ्नो बनाउन चाहन्छ ।
त्यसैले दुई चिरपरिचित प्रतिद्वन्दीबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
इतिहास पल्टाउदा नेपालविरुद्ध भारत सधै हाबी हुँदै आइरहेको छ ।
नेपालले हालसम्म भारतसँग आधिकारिक २२ खेल खेलेको छ । जसमा भारतले १५ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ ।
तर, हामी नेपाल र भारतबीच हालसम्म भएको २३ खेलको चर्चा गर्नेछौँ । बंगलादेशमा सन् २००६ मा भएको पहिलो संस्करणको एएफसी च्यालेञ्ज कप अन्तर्गत नेपाल र भारतबीचको खेललाई फिफाले मान्यता दिएको छैन । त्यस खेलमा नेपालले सिनियर टिम मैदान उतारेपनि भारतले युवा टिम मैदान उतारेका थिए ।
१. सन् १९८५ डिसेम्बर ३१, ढाका
नेपाल र भारतबीचको पहिलो मान्यता प्राप्त औपचारिक खेल भएको थियो, बंगलादेशको ढाकामा । बंगबन्धु रंगशालामा भएको त्यस खेल दोस्रो दक्षिण एसियाली खेलकुदअन्तर्गत भएको थियो । त्यसमा नेपालले सुखद सुरुआत लिन सकेन् र अन्तत: भारत २–० ले विजयी रह्यो । यसअघिका दुई उमेर समूहका मान्यता प्राप्त खेलमा नेपालले भारतलाई लगातार हराएको थियो । तर राष्ट्रिय टिमले खेल्दा नेपालले त्यसलाई दोहराउन सकेन् ।
२. सन् १९८७ डिसेम्बर २३, कोलकाता
नेपाल र भारतबीचको दोस्रो खेल तेस्रो दक्षिण एसियाली खेलकुदका लागि भएको थियो र यो विशेष पनि थियो । किनभने यो पुरुष फुटबलको फाइनल थियो र यो खेललाई हेर्न केही नभएर पनि एक लाख भन्दा बढी दर्शक प्रसिद्ध साल्टलेक स्टेडियममा जम्मा भएका थिए । यसमा पनि भारत १–० ले विजयी रह्यो र स्वर्ण पदक चुम्न सफल रह्यो । नेपालले भने रजत पदकमै चित्त बुझाउन बाध्य रह्यो । यो खेल किन पनि ऐतिहासिक छ भने टेलिभिजनमा प्रतक्ष्य प्रशारण भएको यो नै पहिलो प्रतिस्पर्धा थियो ।
३. सन् १९८९ अक्टोबर २३, इस्लामावाद
नेपालले सुरुआती तीन संस्करणका दक्षिण एसियाली फुटबलको पुरुष फुटबलमा कुनै न कुनै पदक जितेको थियो, तर चौथो संस्करण आइपुग्दा त्यसमा पूर्ण विराम लाग्यो । तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाललाई २–१ ले हरायो र नेपाल कांस्य पदक पनि जित्न सकेन् । यसरी नेपालले भारतविरुद्धका सुरुआती तीन खेलमा पनि लगातार हार बेहोर्यो । तर कम्तीमा नेपालले भारतविरुद्ध पहिलो ऐतिहासिक गोल भने निकाल्न सफल रह्यो र नेपालका यी नायक खेलाडी थिए, मणि शाह ।
४. सन् १९९३ जुलाई १९, लाहोर
सन् १९९३ मा पाकिस्तानले पहिलो संस्करणको सार्क गोल्डकपको आयोजना गरेको थियो । त्यो साफ च्याम्पियनसिप हुन अगाडिको प्रतियोगिता हो ।
त्यसमा पाँच टिमको सहभागिता थियो, देश भने चार । पाकिस्तानले दुई टिम उतारेको थियो । त्यसमध्ये एक टिम राष्ट्रिय टिम नै थियो । अर्को टिमको पाकिस्तान ह्वाइट थियो । यसले खेलेको खेल भने गणना गरिएन् ।
राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगितामा भारतले नेपाललाई १–० ले हरायो र गोल गर्ने खेलाडी थिए, आईएम बिजयेन ।
५. सन् १९९३ डिसेम्बर २६, ढाका
यही दिन त भएको थियो, नेपाली फुटबलले सधैं सम्झिने खेल । बंगलादेशी राजधानी ढाकाले दोस्रो पल्ट दक्षिण एसियाली खेलकुदको आयोजना गरेको थियो र त्यसको पुरुष फाइनलमा प्रवेश गरेका दुई टिम थिए, नेपाल र भारत ।
यस खेलमा नेपालले टाइब्रेकरमा खेल जितेको थियो, ४–३ को स्कोरले । निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा टुंगेपछि खेल टाइब्रेकरमा गएको थियो ।
त्यसमै नेपालले पेनाल्टीमा ऐतिहासिक सफलता चुमेको थियो । यो सफलता किन पनि विशेष रह्यो भने यस संस्करणको दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको यही एक मात्र स्वर्ण पदक हो ।
फाइनलमा नेपाल पराजित भएको भए, नेपाल स्वर्ण पदक विहीन हुने थियो । खेलमा भने नेपालले उत्कृष्ट पुर्नआगमन रचेको थियो ।
एक गोलले पछाडि रहेको स्थितिमा सबैभन्द पहिलो उमेश प्रधानले गोल गरे । फेरि खेल १–२ ले पछाडि परेको स्थितिमा मणि शाहले फ्रि– किकमा शानदार गोल गरे र खेल बराबरी भयो ।
नेपाल फुटबलमा भारतीय टिममाथि हात पारेको यो नै पहिलो जित हो । नेपालले फुटबलमा जितेको यो दोस्रो स्वर्ण हो । अझ विदेशी भूमिमा नेपाली राष्ट्रिय टिमले चुमेको यो पहिलो सफलता पनि हो ।
६. १९९५ डिसेम्बर २५, मद्रास
नेपाल र भारतबीचको छैटौं भेट फेरि एकपल्ट दक्षिण एसियाली खेलकुदले नै जुराएको थियो र स्थान थियो, मद्रास ।
यो खेलमा भारतले नेपालको सामना गर्दा पक्कै पनि बदलाको भावना थियो होला, ढाकामा बेहोरेको हारको बदला लिने । त्यसैले यो खेलमा भारतको प्रदर्शन उत्कृष्ट रह्यो र नेपाल मज्जाले ३–० ले पराजित रह्यो ।
यसपल्टको दक्षिण एसियाली खेलकुदमा जहाँ नेपालले पुरुष फुटबलमा कुनै पदक जित्न सकेन्, त्यहीं अपेक्षा अनुसार भारतले स्वर्ण पदक चुम्यो ।
७. १९९८ डिसेम्बर ५, बैंकक
यो समयसम्म एसियाली खेलकुदमा सहभागी हुने राष्ट्रिय टिम नै हुने गर्थे । त्यसैले थाइल्यान्डमा भएको बैंकक एसियाली खेलकुदका अवसरमा फेरि एकपल्ट नेपाल र भारतको भेट भयो ।
यो त्यही समय हो, जति बेला भारतका वाइचुङ भुटिया आफ्नो खेल जीवनको उत्कृष्ट मोडमा थिए । तर पनि नेपाली डिफेन्सलाई उनलाई चुपचाप राख्न सफल भयो ।
नेपाल यो खेलमा पराजित त भयो, तर स्कोर भने धेरै हदसम्म सम्माजनक नै थियो, खालि १–० को ।
८. १९९९ सेप्टेम्बर ३०, काठमाडौं
भारतीय राष्ट्रिय टिमले पहिलो पल्ट औपचारिक रूपमा खेलेको खेल यही हो, तर यसमै नेपाल नराम्रोसँग पराजित भयो ।
भरिभराउ दशरथ रंगशहालामा भारत ४–० ले विजयी रह्यो । रंगशाला बाहिर टिकट किनेर पनि भित्र प्रवेश गर्न नपाएको दर्शकमाथि लाठीचार्ज भइरहेको थियो । भित्र जान नपाएका दर्शक एक अर्थमा भाग्यमानी नै रहे ।
यी दुई देशबीच अहिलेसम्म जति पनि खेल भए, त्यसमा भारतले नेपाललाई सबैभन्दा नराम्रोसँग पराजित गरेको भनेको यही खेल हो । यही दक्षिण एसियाली खेलकुदपछि पुरुष फुटबल पनि राष्ट्रिय टिमको खेल हुन छाड्यो ।
९. सन् २००५ डिसेम्बर १८, कराँची
सन् २००५ मा पाकिस्तानको कराँचीले साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र त्यसमा नेपालको पहिलो खेल नै भारतविरुद्ध थियो । यी दुई टिमबीच पाँच वर्षको अन्तरमा खेल भएको थियो । त्यसमा भारत २–१ ले विजयी रह्यो ।
यसमा दुवै टिमले पेस गरेको चुनौती बराबरीको थियो । नेपालका लागि वसन्त थापाले गोल गरे । यही खेलबाट त नेपाली राष्ट्रिय टिममा नयाँ पुस्ताको सुरुआत भएको ।
यस खेलमा एकै पल्ट नेपालका लागि सात खेलाडीले डेब्यु गरेका थिए ।
१०. सन् २००६ अप्रिल ९, चिटगाउँ
नेपालले भारतीय टिमका पूर्व स्टार श्याम थापाको प्रशिक्षणमा पहिलो संस्करणको एएफसी च्यालेञ्जकप खेलेको थियो र यसमै नेपालले भारतमाथि ३–० को शानदार जित निकाल्न सफल रह्यो ।
नेपालका लागि वसन्त थापाले एक गोल गरे भने दुई गोल रह्यो, प्रदीप महर्जनको नाममा । प्रतियोगितामा भारतले उतारेको टिम भने पहिलो रोजाईको थिएन्, यसमा सम्मिलित अधिकांस खेलाडी नयाँ र युवा थिए ।
त्यसैले यो खेलमा प्राप्त जितलाई लिएर धेरै चर्चा भने गरिन्न ।
११. सन् २००८ जुन ३, माले
नेपालले मालेमा गरेको डेब्यु सुखद रहेन् ।
माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको त्यस संस्करणमा फेरि एकपल्ट नेपालको पहिलो खेल भारतविरुद्ध नै थियो, त्यसमा फेरि एकपल्ट नेपाल नराम्रोसँग पराजित भयो ।
भारतले यो खेल सजिलै ४–० ले जित्यो ।
नेपाल भारतविरुद्ध चार गोलको अन्तरले दुई पल्ट पराजित रहेको छ र यो दोस्रो पल्ट थियो । साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले विरलै मात्र राम्रो खेल्ने गर्छ । यो संस्करण पनि अपवाद रहेन ।
१२. सन् २००९ डिसेम्बर ७, ढाका
नेपालले फेरि एकपल्ट साफ च्याम्पियनसपमा भारत प्रतिद्वन्द्वी पाएको थियो, बंगलादेशमा भएको यस संस्करणमा ।
नेपालका लागि भने यो समूह चरणको दोस्रो खेल थियो र यसमा भारत १–० ले विजयी रह्यो । नेपालले यसअघि माल्दिभ्सविरुद्ध बराबरी खेलेको थियो । भारतविरुद्ध नेपालको यो दसौं हार थियो ।
यसले पनि देखाउने गर्छ, नेपालमाथि भारत कति हाबी छ भनेर । भारतसँग हारेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना फेरि एकपल्ट कमजोर बनेको थियो ।
१३. २०१२ अगस्ट ५, नयाँ दिल्ली
नेपालले सन् २०१२ मा नेहरुकप खेल्ने आमन्त्रण पाएको थियो र यसैक्रममा नेपालको भेट भयो, भारतसँग । त्यति बेला नेपाल खासै लयमा थिएन्, त्यसको ठीक उल्टो भारतले भने राम्रो गरिरहेको थियो । त्यसैले यस खेल अगाडि धेरैको अनुमान थियो, भारतले जित्ने मात्र छैन्, राम्रै अन्तरले जित्ने छ । तर नतिजा यस्तो आएन्, खेल गोल रहित बराबरीमा टुंगियो । नेपालका लागि भारतलाई उसकै भूमिमा बराबरीमा रोक्न सक्नु सन्तोषजनक नतिजा थियो ।
१४. २०१३ सेप्टेम्बर ५, काठमाडौं
नेपालले सन् २०१३ मा दोस्रो पल्ट साफ च्याम्पियनसिपको आयोजना गरेको थियो र कम्तीमा काठमाडौं पूर्णत: फुटबलमय भएको थियो । यसैक्रममा नेपालले भारतमाथि ऐतिहासिक जित निकाल्न सफल रह्यो । यो जितको खासमा धेरै अर्थ छ । नेपाल समूह ए मा थियो र यसमा परेका अन्य टिम थिए, बंगलादेश र पाकिस्तान । नेपालले सुरुआती दुई खेलमा बंगलादेशलाई हराएको थियो भने त्यसपछि पाकिस्तानसँग बराबरी खेलेको थियो ।
यस्तोमा नेपालको सेमिफाइनल प्रवेश निश्चित भइसकेको थिएन् । यस्तोमा लिग चरणको अन्तिम खेलमा भारतको सामना गर्दा नेपाललाई ढुक्क हुने स्थिति थिएन् । फेरि भारतलाई हराएको खण्डमा नेपाल समूह विजेता पनि हुन्थ्यो । आखिरमा यस्तै भयो, नेपालले भारतलाई २–१ ले हरायो । गोल गर्ने खेलाडी थिए, अनिल गुरुङ र जुमनु राई । पहिलो हाफको गोलरहित बराबरपछि अनिलले ७० औं मिनेटमा पहिलो गोल गरे । त्यसको नौ मिनेटपछि जुमनुले दोस्रो गोल थपे । भारतका रोबिन सिंहले गोल गरे ।
भारतले खेलको अन्त्यतिर नेपालमाथि निकै चर्को दबाब सिर्जना गरेको थियो र यही क्रममा एक गोल फर्काउन पनि सफल रह्यो । सयद नाबीले इन्ज्युरी समयको दोस्रो मिनेटमा एक गोल फर्काएपछि खेल निकै तनावपूर्ण र रोमाञ्चक मोडमा पुगेको थियो । यो जित किन ऐतिहासिक छ भने नेपालले भारतलाई हराएको यो तेस्रो अवसर मात्र हो । तर सबैभन्दा प्रभावशाली जित यही हो । सन् १९९३ मा पराजित गर्दा टाइब्रेकर चलेको थियो भने सन् २००६ मा हराउँदा भारत पहिलो रोजाईको टिम थिएन् ।
१५. २०१३ नोभेम्बर १९, सिलगुढी
भनिन्छ, सिलगुढीमा पनि फुटबल निकै लोकप्रिय छ, त्यसैले सन् २०१३ मा यही पश्चिम बंगालको सहरले भारत र नेपालबीचको मैत्रीपूर्ण खेलको आयोजना गरेको थियो ।
फेरि सिलगुढी नेपालबाट निकै नजिक पनि छ । संयोग कस्तो रह्यो भने यी दुई छिमेकी देशबीच मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल भएको यो नै पहिलो पल्ट हो । त्यो अर्थमा यो ऐतिहासिक रह्यो ।
तर खेल भने भारतको पक्षमा रह्यो र उसले यो खेल २–० ले जित्यो ।
१६. २०१५ मार्च १२, गुवाहटी
यसपल्ट भने विश्वकप छनोटले नेपाल र भारतबीचको खेलको अवसर जुराएको थियो ।
एसियाली विश्वकप छनोटको दोस्रो चरणमा यी दुई देशबीच दुई लेगमा प्ले अफ भएको थियो र त्यसको पहिलो लेग भएको थियो, भारतको गुवाहटीमा । त्यसमा भारत फेरि एकपल्ट २–० ले विजयी रह्यो र छनोटको अर्को चरण पुग्ने सम्भावनालाई जीवन्त राख्न सफल भयो ।
नेपालका लागि यो खेल हार्नुको अर्थ विश्वकप छनोटको यही चरणमा रोकिनु जस्तै थियो ।
१७. २०१५ मार्च १७, काठमाडौं
गुवाहटीमा भएको खेलका पाँच दिन बित्दा नबित्दै नेपालले भारतको आथित्य गरेको थियो, दशरथ रंगशालामा ।
भारतलाई दोस्रो लेगमा दुई गोलको अग्रता त प्राप्त थियो, तर ढुक्क हुन सकेको थिएन् । भारतीय प्रशिक्षक स्टेफन कन्साइटिनले नेपाल वास्तवमै बलियो विपक्षी टिम रहेको पनि माने । उनी नेपालकै पूर्व प्रशिक्षक पनि हुन् ।
यो खेल भने गोलरहित बराबरीमा टुंगियो । यी दुई छिमेकी देशबीचको खेलमा कुनै गोल निस्कन नसकेको यो दोस्रो अवसर मात्र थियो ।
१८. २०१५ अगस्ट ३१, पुना
पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल भएको दुई वर्षपछि भारतले फेरि एकपल्ट यस्तै एउटा अर्को खेलको आयोजना गरेको थियो र यसपल्ट खेल भएको थियो, पुनामा ।
महाराष्ट्रको यस दोस्रो ठूलो सहरमा पनि फुटबल उत्तिकै लोकप्रिय छ ।
यसको नतिजा पनि गोलरहित बराबरी रह्यो । यसरी नेपाल र भारतले लगातार दुई खेल गोलरहित बराबरी खेले ।
यो खेल अर्को एक अर्थमा पनि महत्त्वपूर्ण छ र त्यो हो, यो सागर थापाको अन्तिम खेल थियो । त्यसपछि के भयो, सबैलाई थाहा छ नै ।
१९. २०१५ डिसेम्बर २७, त्रिवेन्द्ररम
साफ च्याम्पियनसिपको त्यस संस्करणमा नेपालको समूहमा खालि तीन टिम मात्र थिए, नेपालसँगै भारत र श्रीलंका ।
नेपालको पहिलो खेल श्रीलंकाविरुद्ध थियो र त्यसमा पराजित भयो । त्यस्तोमा नेपालसामु भारतमाथिको लिग चरणको दोस्रो खेलमा जित निकाल्न अनिवार्य थियो ।
प्रशिक्षक प्याट्रिक ओसेम्सले आक्रमक रणनीति अपानाए । यस्तोमा सुरुमै नेपालले गोल निकाल्न पनि सफल रह्यो, विमल घर्तिमगरको सहयोगले ।
तर त्यसपछि भने खेलमाथि नेपालको पकड गुम्यो र भारत ४–१ ले विजयी रह्यो ।
२०. २०१७ जुन ७, मुम्बई
भारतले फेरि एकपल्ट नेपाललाई आफ्नो भूमिमा खेल्ने निम्तो दिएको थियो र त्यसमा आफूलाई चाहिएको जित निकाल्न सफल पनि रह्यो ।
नेपालले यस खेलमा राम्रै चुनौती पेस गर्ने प्रयास गरेको थियो, जापानी प्रशिक्षक ग्योतुकु कोजीको नेतृत्वमा । तर मुम्बईमा भएको यस खेलमा पनि भारत २–० ले विजयी रह्यो ।
२१. २०२१ सेप्टेम्बर २, काठमाडौं
यस पटक भने भारतले दुई मैत्रीपूर्ण खेलका लागि नेपालको भ्रमण गरेको थियो । साफ च्याम्पियनसिपको तयारीका लागि भारतले नेपालको भ्रमण गरेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले भारतलाई १-१ गोलको बराबरीमा रोकेको थियो ।
घरेलु दर्शकसामु अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १-१ गोलको बराबरीमा ल्याएका थिए।
२२. २०२१ सेप्टेम्बर ५, काठमाडौं
साफको तयारीका लागि नेपाल आएको भारतले दोस्रो मैत्रीपूर्णमा भने जित निकाल्यो ।
दशरथ रंगशालामा नेपालले भारतलाई हराउने अनुमान गरिएको थियो । तर, अन्तमा नतिजा भारतको पक्षमा २-१ को रह्यो ।
भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुख चौधरीले एक एक गोल गरे । नेपालका तेज तामाङले एक गोल फर्काएका थिए ।
२३. अक्टोबर १०, २०२१ माले
साफ च्याम्पियनसिप २०२१ अन्तर्गत लिग चरणमा नेपालले भारतको सामना गरेको थियो । तर, माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा पुन: नेपाल पराजित भयो ।
भारतले एकतर्फी पकड जमाएको खेलमा नेपालले नतिम १० मिनेट भित्र गोल व्यहोरेको थियो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए ।