काठमाडौं । अष्ट्रेलियन ओपन टेनिसमा प्रतिस्पर्धाका लागि योजना बनाईरहेका खेलाडीले खेल्न पाउने सम्भावना बढाउनका लागि कोभिड-१९ विरुद्धको खोप लगाउनु पर्ने अष्ट्रेलिया सरकारले जनाएको छ ।
आगामी वर्ष जनवरी १७ तारिखबाट अष्ट्रेलियन ओपन ग्राण्डस्लाम मेलवर्न पार्कमा आयोजना हुनेछ ।
मेलवर्न भिक्टोरिया राज्यमा पर्दछ जसले व्यावसायिक खेलाडीहरुलाई अनिवार्य रुपमा खोप लगाउनुपर्ने प्रावधान राखेको छ ।
तर,यो नियम केवल अष्ट्रेलियन खेलाडीका लागि वा अन्य देशका खेलाडीका लागि पनि हुने अधिकारीहरुले स्पष्ट पार्नुपर्ने छ ।
भिक्टोरियाका खेलकुद मन्त्री मार्टिन पाकुलाले खेलाडीहरुलाई खोपका बारेमा कुनै पनि दुविधामा नरहन आग्रह गरेका छन् ।
‘यदि म एक एटिपी वा डब्ल्यूटिए खेलाडी भएको भए, मैले खोप लगाउने थिए,’ पाकुलाले बताए ।
‘यसले उनीहरुलाई कम भन्दा कम प्रतिबन्धकाबीच अष्ट्रेलियन ओपनमा सहभागिता जनाउने सबै भन्दा राम्रो अवसर प्रदान गर्नेछ,’ पाकुलाले थपे ।
महिला तथा पुरुष टेनिस खेलाडीहरुलाई खोप लगाउन आग्रह गरिएपनि कतिपय खेलाडीहरुले जस्तै अष्ट्रेलियन ओपन विजेता नोभाक जोकोभिचले यसको विरोध गर्दै आएका छन् ।