काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत काठमाडौं किङ्स-११ र विराटनगर वारियर्सबीचको खेल स्थगित भएको छ ।
टियु क्रिकेट मैदान भिजेको कारण खेल गराउन नसकिने भएपछि काठमाडौं र विराटनगरबीचको खेल स्थगित गरिएको हो ।
काठमाडौं र विराटनगरबीचको खेल टस समेत नभई स्थगित भएको हो ।
काठमाडौं र विराटनगरबीचको खेल बिहान ९ बजे सुरु हुने तालिका रहेको थियो । तर, दुई घण्टासम्म समेत मैदान तयार नहुँदा अम्पायरले खेल स्थगित गरेको हो ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं लगातार दोस्रो जितको योजनामा रहेको थियो । काठमाडौंले पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।
यस खेल काठमाडौंका शाहिद अफ्रिदीको अन्तिम खेल रहेको थियो । उनी दुई खेलका लागि काठमाडौं उत्रिएका थिए ।
करण केसीको कप्तानीमा रहेको विराटनगर भने पहिलो जितको योजनामा थियो । पहिलो खेलमा विराटनगर चितवन टाइगर्ससँग पराजित भएको थियो ।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ ।
भैरहवा र चितवनबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।