काठमाडौं । शाहिद अफ्रिदी सहभागिता सहितको चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) आजबाट सुरु भएको छ र सबैको नजर यिनै पाकिस्तानी पूर्व कप्तानमा थियो ।
पहिलो दिनको खेलमा चम्केका खेलाडी विदेशी नै रहे, तर ती अफ्रिदी थिएनन् । यसले सुरआती संकेत दिएको छ, सम्भवत: यसपल्टको प्रतियोगितामा विदेशी खेलाडी पूर्णत: हाबी हुन सक्नेछ ।
उद्घाटन खेलमा काठमाडौं किङ्स-११ ले ललितपुर प्याट्रियट्सलाई लगभग सजिलै हरायो । यो खेलका दुई नायक रहे, अफगानी ओपनर रहमनुल्लाह गुर्बाज र जिम्बावेली अलराउन्डर रायन बर्ल ।
गुर्बाज र बर्ल दुवैले आक्रामक हुँदै ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बलमा ५९ रन बनाए, त्यहीं बर्लले ३४ बलमा ७३ रन जोडे ।
बर्लले पछि राजु रिजालसँग थप ७२ रनको साझेदारी गरे । अनि उनी नटआउट पनि रहे र निर्विवाद म्यान अफ द म्याच पनि रहे ।
खेल पानीले विथोलिने सम्भावनाबीच त्यस्तो केही अप्रिय भएन् र अन्त्यमा काठमाडौं १४ ओभर २ बलभित्र जितसम्म पुग्न सफल रह्यो, सात विकेटको अन्तरले । यो ब्याटबाट टिमको शानदार प्रदर्शन थियो ।
यसपल्टको प्रतियोगितामा सहभागी जति पनि टिम छन्, त्यसमध्ये काठमाडौंसँग अपेक्षाकृत ठूला नामका विदेशी खेलाडी थिएन्, यदी अफ्रिदीलाई अपवाद मान्ने हो भने ।
काठमाडौंको प्रमुख विशेषता भन्नु नै उत्कृष्ट स्वदेशी खेलाडीमा धनी रहनु हो । तर उद्घाटन खेलमा गुर्बाज र बर्ल दुवै नेपाली बलरमाथि पूर्णत: हाबी देखिए ।
ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले अन्तिम क्षणमा आएर खेल्दिन भन्नु घातक देखिएको छ । एकाएक उनी विना ललितपुरले लय समाट्न नसकेको देखिएको छ ।
त्यसैले पनि डिफेन्डिङ च्याम्पियनको सुरुआत राम्रो रहेन् । ज्ञानेन्द्रको नखेल्ने निर्णयले ललितपुरलाई पूरा प्रतियोगितामा सम्हालिन गाह्रो हुन सक्नेछ।