काठमाडौं । काठमाडौं किङ्स-११ का कप्तान सन्दीप लामिछानेले 'टिम वर्क' को कारण चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा जित निकाल्न सफल भएको बताएका छन् ।
टियु क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले साविक विजेता ललितपुर प्याट्रीयट्सलाई ७ विकेटले पराजित गरेको थियो ।
जितपछि पोस्ट म्याच कन्फरेन्समा बोल्दै कप्तान सन्दीपले टिम वर्ककै कारण जित निस्केको बताए ।
'मैले टसको समय भनेको थिए । १ सय ५८ पूरा गर्न सकिने लक्ष्य हो । किनकि हामीले यो विकेटमा लामो समयबाट खेल्दै आएका छौँ,' सन्दीपले भने, 'गुर्बाजले उत्कृष्ट सुरुवात दिलाए र रायनले जुन तरिकाले फिनिस गर्यो । अन्तिम राजु रिजालले राम्रो योगदान दियो । यो पूरा टिम वर्क थियो ।'
ललितपुरले दिएको १ सय ५८ रनको लक्ष्य काठमाडौंले १४ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गरेको थियो । काठमाडौंको जितमा रायन बर्ल र रहमानउल्लाह गुर्बाजले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
यस्तै कप्तान सन्दीपले आउने दिनमा यस जितलाई निरन्तरता दिने लक्ष्य रहेको बताए।
'यस जितले धेरै सकारात्मक भएका छौँ । हामी यसलाई कायम राख्दै आउने खेलमा हामी यसलाई निरन्तरता दिन चाहन्छौं,' उनले भने ।
सन्दीपले आफुले विकेट नलिएपनि टिमको जितमा योगदान दिएको बताए ।
'यो टिमको जित हो । मैले एक विकेट लिएर र नलिएर पनि टिमलाई सहयोग गरेको हुन्छु । कहिलेकाही हुन्छ विकेट पाइन्छ कहिले पाइन्न । आज टिमको जितमा खुसी छु,' सन्दीपले थपे ।
सन्दीपले शाहिद अफ्रिदीको अनुभव धेरै मुल्यवान रहेको समेत बताए ।
ललितपुरका कप्तान कुशल भुर्तेलले टिमले राम्रै खेलेको प्रतिक्रिया दिए ।
'राम्रो खेलेको हो । तर, बलिङ त्यस्तै भयो । ललितको सोचेजस्तो भएन । समग्रमा टिमको बलिङ राम्रो छ । आज दिन थिएन उनीहरुले राम्रो खेल्यो,' कुशलले भने ।
कुशलले टिमको लक्ष्य फाइनल रहेको समेत बताए ।
'साविक विजेता हौँ । हाम्रो अपेक्षा फाइनल छ । यो खेलले निर्णय गर्दैन अझै ४ खेल बाँकी छ,' उनले थपे ।
उनले आफुलाई कप्तान हुँदा कुनै दबाब नभएको पनि बताए ।