काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य करण केसीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारिवर्सको कप्तानी गर्ने भएका छन् ।
विराटनगर वारिवर्सले शुक्रबार बलर करणलाई कप्तानीको जिम्मेवारी दिएको जनाएको छ ।
यस अघि विराटनगरको कप्तानी राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले गर्दै आएका थिए ।
तर, उनले यस संस्करणको ईपीएल खेल्ने छैनन् ।
चौंथो संस्करणको ईपीएल शनिबारबाट सुरु हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आयोजना हुने ईपीएलमा ६ शहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने आयोजकले जनाएको छ ।