काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि बंगलादेशका ब्याट्सम्यान तमिम इकबाल आज नेपाल आईपुग्ने भएका छन् ।
भैरहवा ग्ल्याडियटर्समा आबद्द ३२ वर्षीय इकबाल आज साँझ नेपाल आईपुग्ने छन् ।
इकबाल नेपाली समय अनुसार ७:३५ बजे नेपाल आईपुग्ने छन् ।
चौंथो संस्करणको ईपीएल भोलि शनिबारबाट सुरु हुँदैछ ।
भैरहवाको कप्तानी शरद भेषवाकरले गर्ने छन्।
को हुन् तमिम ?
तमिम बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान हुन् । उनले बंगलादेशका लागि ६४ टेस्ट, २ सय १९ एकदिवसीय अन्तराष्ट्रिय र ७८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् ।
उनी टेस्ट र एकदिवसीयमा बंगलादेशका लागि सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन् । उनले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७ सय ८८ रन बनाएका छन् ।
एकदिवसीय अन्तराष्ट्रियमा उनले १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६ सय ६६ रन बनाएका छन् ।
उनी २०२० को मार्चबाट एकदिवसीय टिमको कप्तानी गर्दै आईरहेका छन् । उनले टी-ट्वान्टी विश्वकप भने खेल्ने छैनन् । उनले विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
टी-ट्वान्टीमा उनले बंगलादेशका लागि १ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ५७ रन बनाएका छन् । टी-ट्वान्टी अन्तराष्ट्रिय शतक बनाउने उनी एक्लो र पहिलो बंगलादेशी खेलाडी हुन् ।