काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न नेपाल आईपुगेका पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले नेपाल आफुलाई आफ्नै घर जस्तो लागेको बताएका छन्।
नेपाल ओर्लिएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अफ्रिदीले नेपालमा आफुलाई आफ्नै घरमा भएको महसुस भएको बताएका हुन्।
'म धेरै खुशी छु । म पाकिस्तानमा छु जस्तो अनुभव गरिरहेको छु । घरमा छु जस्तो लागेको छ ,' उनले भने, 'मैले नेपाल र जनताको बारेमा धेरै सुनेको थिए । यहाँको आथित्यता उत्कृष्ट छ र देश सुन्दर छ । मलाई विश्वास गर्नुस म धेरै धेरै खुशी छु ।'
ईपीएलका लागि ४४ वर्षीय अफ्रिदी बिहीबार नेपाल आईपुगेका हुन् । अफ्रिदीले काठमाडौं किङ्स-११ बाट चौंथो संस्करणको ईपीएल खेल्ने छन् ।
यस्तै उनले क्रिकेटको कारण आफु नेपालमा रहेको र क्रिकेट विकासमा सहयोग पुगोस भन्ने उद्देश्यले आफु आएको बताए ।
'म क्रिकेटको कारण यहाँ छु । नेपाली क्रिकेटलाई सहयोग गर्न आएको हुँ । नेपालको क्रिकेट पछिल्लो समय राम्रो अवस्थामा छ । आफ्नो उपस्थितिले केही सहयोग पुगोस भन्ने मेरो मान्यता हो,' उनले थपे ।
चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ।
उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ विरुद्ध खेल्नेछ ।
अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका थिए ।
अफ्रिदीले ३ सय ९८ एकदिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टी-ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका थिए ।