काठमाडौं । राष्ट्रिय टिमका विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजको कप्तानी गर्ने भएका छन् ।
पोखराले बिहीबार पत्रकार सम्मेलन गर्दै टिमको कप्तानी विनोदले गर्ने जनाएको छ । विनोद टिमको मार्की खेलाडीको रुपमा समेत रहने छन् ।
अघिल्लो संस्करण शक्ति गौचनको कप्तानीमा पोखराले प्रतिस्पर्धा गरेको थियो । तर, शक्तिले क्रिकेटबाट सन्यास घोषणा गरिसकेका छन् ।
उनी टिमको बलिङ प्रशिक्षक रहेका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ।
उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ विरुद्ध खेल्नेछ।
पोखराले प्रतियोगिताको लागि टिमको तयारी पूरा भएको समेत जनाएको छ ।
जम्प नेशनको स्वामित्वमा रहेको पोखराले उपाधि जित्न विभिन्न रणनीति तय गरेको जनाएको छ ।
पोखराले विदेशी खेलाडीको रुपमा दक्षिण अफ्रिकाका रिचार्ड लेभी, वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलंकाका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेश गरिएको जनाएको छ ।
कार्यक्रममा मार्की खेलाडी भण्डारीले उपाधि आफ्नो पक्षमा पार्ने रणनीतिका साथ मैदान ओर्लने बताए ।