काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न दक्षिण अफ्रीकाका रिचर्ड लेभी नेपाल आईपुगेका छन् ।
ईपीएल टिम पोखरा राइनोजले बुधबार लेभी नेपाल आईपुगेको जनाएको छ ।
लेभीले दोस्रो सिजन पोखराबाट खेल्न लागेका हुन् । लेभीले तेस्रो संस्करण समेत पोखराबाट खेलेका थिए ।
चौंथो संस्करणको ईपीएल क्रिकेट शनिबारबाट टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।
उद्घाटनमा साविक विजेता ललितपुर प्याट्रीयट्सले काठमाडौं किङ्स-११ विरुद्ध खेल्नेछ ।
दक्षिण अफ्रीकाबाट टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलिसकेका लेभीले इन्डियन प्रिमियर लिग समेत खेलिसकेका छन् ।
लेभीले दक्षिण अफ्रिकाबाट १३ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । सन् २०१२ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले मुम्बई इन्डियन्सबाट आइपीएल खेलेका थिए ।
लेभी टी-ट्वान्टी क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने खेलाडीमा पर्छन् । उनले ४५ बलमा ११७ रन बनाएका उक्त कीर्तिमान बनाएका थिए । तर, अहिले उक्त कीर्तिमान क्रिस गेलको नाममा रहेको छ ।