काठमाडौं । सन् २००५ को कराँची साफ च्याम्पियनसिपको चर्चा गर्दा त्यसको नेपाली फुटबलमा खास अर्थ छ । किन भने यस प्रतियोगितासँगै नेपाली फुटबलमा नयाँ अध्याय सुरु हुन्छ ।
र, त्यो अध्याय नेपाली राष्ट्रिय टिममा एन्फा एकेडेमीका खेलाडीको बाहुल्यता । यो क्रम अहिलेसम्म पनि चलिरहेको नै छ ।
त्यस साफमा नेपालले आफ्नो पहिलो खेल भारतविरुद्ध खेलेको थियो, जसमा नेपाल २–१ ले पराजित रह्यो । भारतविरुद्ध एक मात्र गोल वसन्त थापाले गरे । त्यसमा एकैपल्ट सात खेलाडीले डेब्यु गरेका थिए ।
ती थिए, विकास मल्ल, जनक सिंह, विसन गौचन, तासी छिरिङ, प्रदीप महर्जन, विजय गुरुङ र लोकबन्धु गुरुङ ।
लगतै बंगलादेशविरुद्धको खेलमा अञ्जन केसी, राजु तामाङ र प्रलय राजभण्डारीले पहिलो पल्ट खेल्ने अवसर पाए ।
प्रतियोगिता डिसेम्बरमा भएको थियो । त्यस अगाडि नेपालको अन्तिम खेल एसिया कप छनोट दोस्रो लेगमा दक्षिण कोरियाविरुद्ध थियो । त्यो भनेको सन् २००३ को अक्टोबर ।
नेपाली राष्ट्रिय टिमले त्यसबीच दुई वर्ष भन्दा बढी खेल्दै खेलेन् र यसमा विश्वकप छनोट पनि पर्छ । एसिया कप छनोटमा खराब प्रदर्शनपछि यो स्थिति तयार भएको थियो ।
दक्षिण कोरियाविरुद्ध खेलेको त्यस खेलका ६ खेलाडीले नेपालका लागि अन्तिम खेले खेलेको संयोग पनि तयार भयो।
ती खेलाडी थिए, उपेन्द्रमान सिंह, बालगोपाल महर्जन, मधु कार्की, नरोत्तम गौत्तम, सुनिल तुलाधर र कुमार थापा । कराँचीमा टिमकै सदस्यका रूपमा गोलरक्षक सिंह पनि पुगेका थिए, तर उनले खेल्न पाएनन्।