काठमाडौं । सन् २००५ को साफ च्याम्पियनसिप पाकिस्तानको कराँची सहरले आयोजना गरेको थियो र त्यसक्रममा निकै कडा सुरक्षा व्यवस्था अपनाइएको थियो ।
भएको के थियो भन्दा त्यसको केही समय अगाडि मात्र कराँचीमा शृंखलाबद्ध बम विष्फोटन भएका थिए । त्यसैले सहभागी बसेको होटल र आयोजना स्थल रंगशालामा खुबै कडा सुरक्षा व्यवस्था थियो।
फेरि एकपल्ट प्रतियोगितामा आठै टिम सहभागी रहे । पहिलो समूह ए बाट माल्दिभ्स र पाकिस्तानले सेमिफाइनल यात्रा गरे । अफगानिस्तान र श्रीलंकाको यात्रा समूह चरणमै टुंगियो ।
अर्को समूहबाट बंगलादेश र भारत अन्तिम चारमा पुगे । यस समूहबाट बाहिरिने टिम थिए, नेपाल र भुटान । नेपालका लागि प्रतियोगिता फेरि एकपल्ट निराशाजनक रह्यो ।
जापानी प्रशिक्षक तोसिहिरो सिवाजावाको नेतृत्वमा नेपालले एकै जित मात्र निकाल्न सक्यो र यो अपेक्षित रूपमा भुटानविरुद्ध नै थियो । यो नेपालको लिग चरणको अन्तिम खेल थियो र त्यस अगाडि नै नेपालको सेमिफाइनल पुग्ने समीकरण टुंगिसकेको थियो । नेपाल भारतसँग २–१ र बंगलादेशसँग २–० ले पराजित रह्यो ।
भारतविरुद्ध एक मात्र गोल वसन्त थापाले गरे । माल्दिभ्सविरुद्ध प्राप्त ३–१ जितमा क्रमश: सुरेन्द्र तामाङ, वसन्त थापा र विजय गुरुङले गोल गरे।
सेमिफाइनलमा भने भारतले माल्दिभ्स र बंगलादेशलले पाकिस्तानलाई हरायो । फाइनलमा भारतले बंगलादेशलाई हराएर पाकिस्तानी भूमिमा उपाधि जित्न सफल रह्यो ।
नेपालका लागि यो प्रतियोगिता एक अर्थमा विशेष छ र यो हो, नेपाली राष्ट्रिय टिममा एन्फा एकेडेमीको पहिलो ब्याचका खेलाडीको प्रवेश ।
त्यो भनेको नेपाली फुटबलमा नयाँ पुस्ताको प्रवेश पनि । यस प्रतियोगितासँगै उपेन्द्रमान सिंह र बालगोपाल महर्जन पुस्ताका खेलाडीको राष्ट्रिय टिममा पूर्ण विराम लाग्यो ।