काठमाडौं । जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाइ गरिएको छ।
नेपालगंज म्याराथनले मंगलबार धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरेको हो।
राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपालगंज म्याराथनका टिएस ठकुरी लगायतले उनीहरुलाई बिदाइ गरे।
बिदाइमा उनीहरुलाई ट्रयाक सुट प्रदान गरिएको थियो ।
विश्व चर्चित बर्लिन म्याराथन जर्मनीको बर्लिनमा सेप्टेम्बर २९ मा हुनेछ ।
पार्की पछिल्लो संस्करणको नेपालगंज म्याराथनको विजेता हुन् ।
बिदाइमा बोल्दै धावक पार्कीले उत्कृष्ट प्रदर्शन गर्ने प्रतिबद्दता जनाए ।
'यस म्याराथनको महत्व छुट्टै छ । सहभागिता जनाउन पाउँदा खुसी छु । सबै सहयोगीलाई धन्यवाद,' उनले भने,'यसमा म उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्दता गर्छु ।'