काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमान भ्रमण युवा खेलाडीको लागि राम्रो भएको बताएका छन् ।
ओमान भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै ज्ञानेन्द्रले युवा खेलाडीका लागि राम्रो भएको बताएका हुन् । उनले युवा खेलाडीमा गरेको लगानीको नतिजा आउन सुरु गरेको समेत बताए ।
'ओमान भ्रमण डिसेन्ट रह्यो । ३ खेललाई लक्ष्य बनाएका थियौं । राम्रो कुरा चै ओमानलाई धेरै पछि हरायौँ,' कप्तान मल्लले भने, 'यो भ्रमणमा युवा खेलाडीको राम्रो रह्यो । खुशी हुने कुरा युवा खेलाडीमा गरेको लगानीको नतिजा देखिदैछ ।'
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि ओमान गएको नेपाली टिम मंगलबार बिहान स्वदेश फर्किएका हुन् ।
कप्तान मल्लले कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, गुलशन झा, बिक्रम सोब लगायतका खेलाडीले राम्रो गरेको बताए ।
'कुशल, आसिफ, रोहित भयो गुलशन, बिक्रम सबैको राम्रो रह्यो । अरु खेलाडीको पनि रह्यो भयो । टिमका लागि यो राम्रो पाटो हो,' उनले भने ।
अल अमिरात क्रिकेट मैदानमा भएको सिरिजको ४ खेलमा नेपालले दुई जित निकालेको थियो ।
सिरिजमा नेपालले एकदिवसीय अन्तराष्ट्रियमा ओमानमाथि पहिलो जित निकालेको थियो । सिरिजपछि नेपाल लिग-२ को चौंथो स्थानमा समेत उक्लिएको थियो । नेपालले ८ खेलमा ८ अंक जोडेको छ ।