काठमाडौं । जर्मनीमा आयोजना हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने नेपाली धावक गोपिचन्द्र पार्कीलाई बिदाइ गरिएको छ।
एथ्लेटिक्स परिवार नेपालले सोमबार धावक पार्की र प्रशिक्षक सन्तोष श्रेष्ठलाई बिदाइ गरेको हो।
१३ औं सागका पदकधारी पार्कीलाई एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्त, एथलेटिक्स परिवार नेपालका सल्लाहकार ऋषी भण्डारी, अध्यक्ष राजन खत्री लगायतका पदाधिकारीहरुले खेल पोशाक र सामग्री प्रदान गरी बिदाइ गरे।
यस्तै कार्यक्रममा सल्लाहकार सुनिल राजबंशी र नेपाल एथलेटिक्स संघका पूर्व अध्यक्ष रघुराज वन्तले धावक पार्की र प्रशिक्षक श्रेष्ठलाई खुराकी खर्च वापत पचास हजार प्रदान गरेका थिए ।
नेपालबाट सहभागी हुन जाने टोलीलाई तीन दिनको आवास, खाना खर्च आयोजकले व्यहोर्ने र बॉकी ३ दिनको खर्च सल्लाहकार ऋषी भण्डारीले सहयोग स्वरुप उपलब्ध गराउने छन् ।
यस्तै हवाई टिकट राष्ट्रिय खेलकुद परिषदले उपलब्ध गराएको छ भने सहभागीताको अवसर एथलेटिक्स प्रशिक्षक दिलमाया कार्कीको पहलमा भएको हो ।
त्यस्तै धावक पार्कीलाई आगामी ३ वर्षको लागी पूर्व एथलेटिक्स खेलाडी एबं सल्लाहकार मोहन नेपाल, सुनिल राजबंशी सहित शत्रुघन श्रेष्ठ,सबिन प्रधान र प्रचण्ड कर्माचार्यले खेल पोसाक,जुत्ता र सामग्रीहरु प्रदान गर्ने भएका छन् ।