काठमाडौं । रोकिएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ आज बेलुकादेखि फेरि सुरु हुँदैछ र प्रतियोगिताको समाप्तीमा यसले प्रदान गर्नेछ, १४ औ विजेता ।
अप्रिल ९ बाट सुरु भएको यसपल्टको आईपीएलमा भारतीय कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बेंगलोर डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सबाट राम्रो देखिएको छ ।
कोभिड १९ संक्रमण उत्कृर्षमा हुँदा प्रतियोगिता सुरु भएको थियो र मे ३ सम्म चलिरहेको थियो । तर कोलकाता नाइटराइडर्सका दुई खेलाडी वरुण चक्रवती र सन्दीप वारियरलाई कोभिडले छोएपछि बेंगलोरविरुद्धको खेल रद्द गरियो । त्यसको भोलि पल्ट नै प्रतियोगिता रद्द गर्नु परेको थियो, किनभने सनराइज हैदरावादका एक खेलाडी संक्रमित भए ।
त्यति बेलासम्म २९ खेल भएको थियो । अब ३१ खेल हुनेछन्, जसमा २७ खेल लिग चरणका छन् । नकआउट चरणका तीन खेल र एक फाइनल अक्टोबर १० देखि १५ बीच हुनेछ । प्रतियोगिता आफै भने भारतबाट यूएई सारिएको छ । सन् २०२० को आईपीएल पनि यूएईमै भएको थियो । यसपल्ट पनि खेल दुबई, सारजहा र अबु धाबीमै हुनेछन् ।
यिनै तीन सहरले अक्टोबर २३ देखि नोभेम्बर १४ सम्म ट्वान्टी ट्वान्टी विश्वकपको आयोजना गर्दैछ । त्यसैले आईपीएलका लागि भनेर थोरै पिच मात्र प्रयोगमा आउने छन् । त्यसको अर्थ प्रतियोगिता जति जति अगाडि बढ्दै जानेछ, रन बन्ने काम कम हुन थाल्नेछ, किनभने पिच सुस्त हुनेछ । प्रतियोगिता रोकिंदा सन् २०२० को उप विजेता आठ टिम सम्मिलित प्रतियोगिताको शीर्ष स्थानमा थियो ।
तीन पल्टको विजेता चेन्नाइ सुपर किंग्स दोस्रो र बेंगलोर तेस्रोमा थियो । बेंगलोरले अहिलेसम्म आईपीएल जितेको छैन् । पाँच पल्टको विजेता मुम्बई भने चौथो स्थानमा थियो । राजस्थान रोयल्स, पञ्जाव किंग्स र कोलकाता नाइट राइडर्स सबै शीर्ष चारका लागि प्रतिस्पर्धामा छन् । सनराइज हैदरावाद भने एक जितमा कमजोर स्थितिमा छ ।
–बीबीसीको सहयोगमा ।