काठमाडौं । प्रतियोगिता आयोजना गर्दैमा घरेलु टिमले राम्रो गर्छ भन्ने केही छैन् ।
सन् १९९७ को साफ च्याम्पियनसिप नेपालले अहिलेसम्म खेलेका फुटबलका प्रतियोगितामध्ये सबैभन्दा खराब मान्न मिल्नेमा पर्छ ।
प्रतियोगिता सुरु हुन अगाडि नेपाल उपाधिको सबैभन्दा बलियो दावेदार थियो, त्यहीं प्रतियोगिताको अन्त्यसम्ममा नेपाल सबैभन्दा खराब टिम सावित भयो ।
त्यही बेलादेखि त हो, भन्न थालेको, नेपालका लागि साफ च्याम्पियनसिप फाप्दैन् । सेप्टेम्बर ४ देखि १३ सम्म आयोजित प्रतियोगितामा ६ टिम सहभागी थिए र तिनलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो ।
'ए' समूहमा नेपालसँग श्रीलंका र पाकिस्तान थिए । नेपालले आफ्नो पहिलो खेलमै पाकिस्तानसँग २–० ले पराजित भयो र दबाबमा आइहाल्यो ।
आफ्नो दोस्रो खेलमा पनि नेपाल श्रीलंकासँग ३–१ ले पराजित भयो । नतिजा नेपाल लिग चरणबाटै बाहिरियो । श्रीलंकाविरुद्ध एक सान्त्वना गोल दीपक अमात्यले गरेका थिए ।
श्रीलंका र पाकिस्तान सेमिफाइनल पुगे । अर्को समूह 'बी' मा भारत, माल्दिभ्स र बंगलादेश थिए । भारत र माल्दिभ्सले सेमिफाइनल यात्रा तय गरे।
सेमिफाइनलमा माल्दिभ्सले श्रीलंकालाई हरायो भने भारतले पाकिस्तानलाई । दक्षिण एसियाली फुटबलमा माल्दिभ्स शक्ति हुँदैछ भन्ने पहिलो संकेत यही प्रतियोगिताबाट प्राप्त भएको थियो।
माल्दिभ्स कुनै पनि फुटबल प्रतियोगिताको फाइनल पुगेको यो नै पहिलो अवसर थियो । उपाधिको भिडन्तमा भने भारत नै बलियो सावित भयो र बन्यो, साफ च्याम्पियन ।
फोटो - दिपक अमात्य फेसबुक