इलाम । जब कोही मन दिएर खेल क्षेत्रमा लाग्छ त्यसबेला उसले खेलकुदबाट भविष्य सुनिश्चित गर्ने सपना देख्छ ।
सपना पूरा गर्न वर्षौंसम्म दिन रात नभनी पसिना बगाउँछन्, आफनो लगनशिलता देखाउँछन् परिश्रम गर्छ, आएका अरु केही राम्रा अवसरहरु भन्दा खेलकुदलाई महत्व दिन्छन् ।
तर, जब आफ्नो मिहिनेतको फल प्राप्त नभएको र राज्यले पनि केही नगरेको अनुभूति गर्छ त्यसबेला विकल्पको खोजीमा लाग्छन् ।
अर्थात पलायनको बाटो रोज्न बाध्य हुन्छ । केही आफ्नो इच्छाले पलायनको बाटो राज्छ त कोही बाध्यताले ।
विश्व विजेता भारतीय क्रिकेट टोलीका एक सदस्य अहिले बाध्यताले पलायन भएर कुल्लीको काम गरिरहेका छन् ।
प्रसंग हो दृष्टिविहीन क्रिकेट विश्वकप विजेता टोलीका सदस्य नरेश टुम्डाको । दृष्टि एकदमै कमजोर भएका गुजरातका टुम्डाले २०१८ मा भारतीय टोलीको सदस्यका रूपमा दृष्टिविहीन क्रिकेट विश्वकप जितेका थिए ।
पाकिस्तानको सारजहाँमा पाकिस्तानलाई नै हराउँदै दृष्टिविहीन क्रिकेट विश्वकपको फाइनल उचालेको थियो ।
फाइनलमा पाकिस्तानले दिएको ३ सय ८ रनको लक्ष्य भारतले एक ओभर बाँकी छर्दै २ विकेटको जित निकालेको थियो । त्यसअघि नेपाललाई ८ विकेटले हराउँदै भारत सेमीफाइनल पुग्ने पहिलो टोली समेत बन्न सफल भएको थियो ।
भारतीय टोलीले विश्वकप जितेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै राष्ट्रले गौरव गर्ने बताएका थिए।
तर, अहिले तीन वर्षपछि उनी जीविकोपार्जनको लागि कुल्लीको काम गर्न बाध्य छन् । टुम्डाले धेरै ठाउँमा जागीरको लागि निवेदन नदिएका पनि हैनन् । तर, कसैले उनलाई रोजगारी दिएन।
उनी अहिले २९ वर्षका भए । यसअघि गत वर्ष उनी सागसब्जी बेच्ने गर्थे । तर, लकडाउनका कारण त्यो ब्यापार चलेन र उनलाई परिवार पाल्न सकस पर्यो । अनि उनले सब्जी बेच्न छोडे र कुल्लीको काम गर्न थाले । अहिले उनी निर्माणस्थलमा ज्यालादारीमा ईटा बोकिरहेका छन् ।
अन्तराष्ट्रिय समाचार एजेन्सी एएनआईले टुम्डालाई उद्धृत गर्दै भनेको छ ‘म एक दिनमा २५० रुपैयाँ कमाउँछु । म सरकारलाई आग्रह गर्दछु कि मलाई एक जागिर दिनुहोस् ताकि म आफ्नो जीविकोपार्जन गर्न सकौ । मेरा बुबा आमा बुढा हुनुहुन्छ । मेरो बुबा जागिरमा जान असमर्थ हुनुहुन्छ । म परिवारको एक मात्र कमाउने व्यक्ति हुँ ।’
टुम्डाले विश्वकप जित्दा आफुले जागिर पाउने विश्वास लिएको समेत बताएका छन् ।
‘जब हामीले विश्वकप जित्यौं तब म धेरै खुसी थिएँ र सोचेँ कि म जागिर पाउँछु तर अहिले सम्म मैले जागिर पाएको छैन । म प्रधानमन्त्रीलाई मेरो जीविकोपार्जनका लागी एक जागिर उपलब्ध गराउन आग्रह गर्दछु ।’ उनले थपे ।
टुम्डा प्रतिभाशाली क्रिकेटर हुन् । उनले ५ वर्षको उमेरबाट क्रिकेट खेल्न सुरु गरेका थिए । पछि सन् २०१४ मा गुजरात टिम हुँदै भारतीय राष्ट्रिय टोलीमा छनौट भएका थिए ।