काठमाडौं । नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्तफ दुई स्वर्ण पदक जितेका छन् ।
फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेर समूहको स्पोर्ट्स र ट्रेडिसनल पुम्सेमा स्वर्ण जितेका हुन् ।
सन्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् । सन्जीवले ६ अंक बटुल्दा क्लेभले ४.९३४ अंक जोडेका थिए । प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट पुम्सेमा भने रजत पदकमै चिक्त बुझाए ।
स्पोट्र्स पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते । फ्रान्कोईले ६.५१ अंक बटुल्दा प्रेमले ५.८१ अंक जोडेका थिए ।
यसै च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोर्ट्स पुम्सेमा कांस्य र ट्रेडिसनल रजत पदक जितिन् । स्पोट्र्स पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अंक र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अंक बटुलेका थिए ।
सन्दीपाले भने ५.४५ अंक जोडेपछि कांस्य पदकमा खुम्चिन बाध्य भइन् । ट्रेडिसनलतर्तफ भने उनी रजत पदक जित्न सफल भइन् ।
गत सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
१४ औं संस्करण भने अनलाइनमा हुँदा पुम्से, भर्चुअल स्पाइरिङ, स्पिड किकिङ, ब्रेकिङ, विपन र पारा तेक्वान्दोको प्रतिस्पर्धा भएका थिए ।