पुनम उज्वेकिस्तान नजाने

फाइल तस्बिर/खेलपाटी
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम आज सोमबार राति उज्वेकिस्तान प्रस्थान गर्दैछन् ।
एएफसी महिला एसियन कप-२०२२ छनोट प्रतियोगिताका लागि नेपाली टिम उज्वेकिस्तान जान लागेका हुन्।
तर, डिफेन्डर पुनम जर्गा मगरले भने उज्वेकिस्तानको भ्रमण गुमाउने भएकी छिन् ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले घोषणा गरेको २३ सदस्सीय टिममा पुनम थिइन् ।
तर, मुटुको समस्याको कारण उनी उज्वेकिस्तान जाने छैनन् ।

त्रिभुवन आर्मी क्लबकी डिफेन्डर पुनमले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल समेत गुमाएकी थिइन् ।
तर, उनलाई पहिलो मैत्रीपूर्ण खेलमा राष्ट्रिय गानसम्मको लागि १२ औं खेलाडीको रुपमा मैदान प्रवेश गराईएको थियो ।
गंगालाल अस्पतालमा खेलाडीको स्वास्थ्य जाँच (पिएमसिए) गर्दा पुनमको मुटुमा समस्या देखिएको थियो ।
जसको कारण डाक्टरहरुले उनलाई नखेल्न सुझाब दिएको थियो ।
पुनमको मुटुमा प्वाल देखिएको बताईएको छ । उनको शल्यक्रिया गर्नु पर्नेछ ।
महिला टिमको व्यवस्थापक पेमा लामाले पुनमलाई टिमबाट रिलिज गरिएको जानकारी गराए।
'गंगालालमा परिक्षण गर्दा पुनमको मुटुमा समस्या देखिएको थियो। जसको कारण टिमका चिकित्सक टोलीले उनले खेल्न नमिल्ने जनाएको छ,' पेमाले भनिन्, 'अहिले पुनम टिमसँग छैन। उनलाई रिलिज गरिएको छ ।'
पुनम टिम बाहिर रहेपछि २२ खेलाडीसहितको टिम उज्वेकिस्तान जाने छन् ।
उनको स्थानमा अन्य खेलाडी नराखिने एन्फाले जनाएको छ ।














