काठमाडौं । नोभाक जोकोभिचले त्यसै भनेका होइनन्, यो शतप्रतिशत सत्य हो । उनी भन्थे, ‘अहिले तत्काल विश्व टेनिसमा ग्रान्ड स्लाम उपाधि जित्न कोही योग्य छ भने त्यो डानिल मे मेदभेदेब मात्र हुन् ।’
यूएस ओपनको फाइनलमा एकोहोरो तीन सेटमा पराजित भएपछि यी नम्बर १ खेलाडीले यत्तिको स्विकार्न आवश्यक पनि थियो ।
यसअघिका दुई ग्रान्ड स्लाम फाइनल गुमाएपछि रुसी दोस्रो वरीयताका खेलाडी तेस्रो पल्ट उपाधिका लागि खेलिरहेका थिए र उनको बाटोमा थिए, सर्बियाली ३४ वर्षीय जोकोभिच ।
फाइनलमा विश्व टेनिसकै ध्यान थियो, किनभने यो खेल जितेको भए, जोकोभिच निर्विवाद यो खेलको सर्वकालीन महान खेलाडी हुन्थे ।
उनले अहिलेसम्म २० ग्रान्ड स्लाम उपाधि जितेका छन् र अहिलेको यूएस ओपन जितेको भए, २१ औं हुने थियो । अनि त्यसै क्रममा उनले समान २०–२० ग्रान्ड जितेका रोजर फेडेरर र राफेल नाडाललाई उछिन्थे । तर त्यस्तो केही पनि भएन् । जोकोभिचको यस अभियानलाई रोक्ने काम गरे, मेदभेदेबले ।
रुसी २५ वर्षीय मे मेदभेदेबले आफ्नो जीवनको पहिलो ग्रान्ड स्लाम फेरि निकै विशेष दिन जितेका छन् ।
आइतबार उनको ‘म्यारिज एनिभर्सरी’ पनि थियो । यही प्रसंगमा उनले भनेका छन्, ‘आज मलाई जसरी भए पनि यूएस ओपन जित्नु थियो, किनभने आज हाम्रो म्यारिज एनिभर्सरी परेको छ, तर श्रीमतीलाई उपहार किन्न मलाई समय पनि थिएन् ।’
–बीबीसीको सहयोगमा