काठमाडौं। मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् ।
भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने ।
नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा नेपाल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पेयर १५–१७ वर्षमा गोदावरीका श्रृजल श्रेष्ठ र रोशनी सिलवाल (६.५९ अंक) ले स्वर्ण तथा चन्द्रसूर्यका यज्ञ राई र हिमाला अधिकारी ((६.११ अंक) ले रजत जिते । नेपाल टाइगरका मन्दिप राई र मनीषा पराजुली तथा चन्द्रसूर्यका अरुण तिवारी र सोनी शेर्पा तेश्रो भए ।
पेयरतर्फ १८–३५ वर्षमा १३ औं सागका कांस्य विजेता जितबहादुर बोट र स्वर्णधारी पार्वती गुरुङ पहिलो बने । नेपाल प्रहरीका उनीहरुले ७.२३ अंक जोडे । ७.१४ अंकसाथ प्रहरीका १३ औं सागकी स्वर्ण विजेता निशा दर्नाल र १३ औं सागका कांस्य विजेता अस्मिन राउत दोश्रो भए । १३ औं सागका स्वर्ण विजेताद्वय नेपाल आर्मीका आयेशा शाक्य र सन्जिवकुमार ओझा तथा आर्मीकै १३ औं सागकी स्वर्णधारी सन्जिला तिमल्सिना र रजत विजेता कृष्णबहादुर तामाङले तेश्रो स्थानमा चित्त बुझाए ।
पुरुष ३६–५० वर्षको एकल पुम्सेमा मुलपानीका मधुसुदन सापकोटा (६.२९ अंक) ले स्वर्ण तथा मुलपानीकै प्रेमकुमार दर्नाल (५.९३ अंक) ले रजत चुमे । प्रहरीका लक्ष्मणबहादुर ऐर तथा शिवपुरीधामका आशिष चन्दले कांस्य हात पारे ।