काठमाडौं । एथलेटिक्स परिवारले मंसिरको तेस्रो साता युथ एथलेटिक्स च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।
एथलेटिक्स परिवारले मंगलबार बिज्ञप्ति जारी गर्दै युथ च्याम्पियनसिप मंसिर १८ गते आयोजना हुने बताएको हो ।
परिवारका अध्यक्ष राजन खत्रीले मंसिर १८ गते शनिबार काठमाडौंमा युथ च्याम्पियनसिप आयोजना गरिने बताए ।
प्रतियोगितामा छात्र तथा छात्रातर्फ यू–१६ र यू–२० उमेर समूहलाई समावेश गरिने बताईएको छ ।
च्याम्पियनसिपमा यू–१६ मा १२ स्पर्धा र यू–२० मा १६ स्पर्धा सहित कुल २८ स्पर्धा समावेश गरिएको छ ।
यू–१६ महिला तथा पुरुषमा ६० मिटर दौड, सय मिटर दौड, ८ सय मिटर दौड, सटपुट थ्रो, लङ्गजम्प र ४ गुणा १ सय मिटर रिले हुनेछन् ।
त्यस्तै, यू–२० महिला तथा पुरुषमा सय मिटर दौड, ४ सय मिटर दौड, ८ सय मिटर दौड, ३ हजार मिटर दौड, लङ्गजम्प, हाइजम्प, सटपुट थ्रो र ४ गुणा सय मिटर रिले दौड सञ्चालन गरिने बताईएको छ ।
भदौ १ गते वार्षिक कार्यक्रम सार्वजनीक गर्दै एथलेटिक्स परिवार गठन गरिएको थियो । नेपाल एथलेटिक्स संघलाई 'होस्टेमा हैसे' गर्ने भन्दै एथलेटिक्स संघले वार्षिक कार्यक्रम सार्वजनीक गरेको थियो ।